दर्शकको रोजाईमा पर्दै कमेडी दरबार — OSNepal

दर्शकको रोजाईमा पर्दै कमेडी दरबार

LC (KTM) September 23, 2024 0

काठमाडौँ ।हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ पछिल्लो समय दर्शकसँगै फिल्म प्रमोशनको माध्यम बनिरहेको छ । गएको भदौ १४ गते प्रसारण सुरु भएको कमेडी दरबारको चार एपिसोड प्रसारण भइसकेको छ । चारवटै एपिसोडलाई दर्शकले रुचाएका छन् । पहिलो एपिसोडलाई अहिलेसम्म युट्युवमा मात्रै १२ लाख भन्दा बढी पटक हेरिएको छ । जसमा अतिथि कलाकारको रुपमा अभिनेता दयाहाङ राई र अभिनेत्री रेखा थापा उपस्थित थिए । पहिलो एपिसोड नै नेपालको युट्युवको ट्रेन्डिङमा पुगेको थियो ।

यस्तै दोस्रो एपिसोडमा नेपाली खेलाडीहरु किरण चेम्जोङ, ललित राजवंशी र सरस्वती चौधरी उपस्थित थिए । जुन एपिसोडलाई पनि युट्युवमा अहिलेसम्म झण्डै ९ लाख पटक हेरिएको छ । यस्तै तेस्रो एपिसोडमा चलचित्रमा खुस्माका अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी उपस्थित थिए । यो एपिसोडलाई पनि ८ लाख भन्दा बढी पटक हेरिएको छ । यस्तै गएको शुक्रबार प्रसारणमा आएको चौथो एपिसोडमा चलचित्र बेहुली फ्रम मेघौलीको तर्फबाट निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का उपस्थित थिए । यस एसिसोडलाई पनि दुईदिनमै ५ लाख भन्दा बढी पटक हेरिएको छ । यसरी अहिलेसम्म प्रसारण भएका एपिसोडहरु हेर्दा दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । तीनवटा एपिसोड लगातार केहिदिनसम्म युट्युवको ट्रेन्डिङमा रहेका थिए ।

कमेडी दरबारमा अभिनेत्री गौरी मल्ललाई महारानी र अभिनेता बिजय बराललाई महाराजको रुपमा प्रस्तुत गरिएको छ । यस्तै सिडी बिजय अधिकारी, नम्रता सापकोटा, पबित्रा साकी, सुजता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, उत्सव सापकोटा, हिमेश पन्त र बिकाश अर्याल कमेडीयनको रुपमा आबद्ध छन् । उनीहरुले जोडीको रुपमा प्रस्तुती दिँदै आएका छन् । बिशेषगरी उपस्थित पाहुनाहरुलाई लक्षित गर्दै गरिएको ब्यंग्यलाई दर्शकले निकै रुचाएको देखिन्छ । शोलाई पुर्व मिस नेपाल नम्रता श्रेष्ठले होस्ट गरिरहेकी छिन् । शोलाई बिक्की अगरवाल र श्रृद्धा प्रसाईले निर्देशन गरिरहेका छन् । शोको राईटरको रुपमा विकाश अर्याल, सुन्दर खनाल र बिक्की अगरवाल रहेका छन् । यस्तै प्रोडक्सनमा आयुष लुईटेल छन् । शोको मिडिया संयाजन र गेष्ट म्यानेजमेन्ट गोपिकृष्ण चापागाईंले गरिरहेका छन् ।

‘फिल्म प्रमोशनको पहिलो रोजाई बन्दै’
कमेडी दरबार पछिल्लो समय फिल्म प्रमोसनका लागी बलियो माध्यम बन्न थालेको छ । दर्शकको राम्रो उपस्थिती हुने भएकाले चलचित्रका मेकरको रोजाईमा कमेडी दरबार पर्न थालेको छ । पुरा एपिसोड चलचित्र मय बनाइने भएकाले पनि चलचित्रका निर्माता तथा निर्देशकको रोजाईमा यो शो पर्न थालेको हो । पछिल्लो चार एपिसोडमा दुई वटा एपिसोडमा उपस्थित कलाकार चलचित्रको प्रमोशनकै लागी उपस्थित थिए । खुस्मा चलचित्रका कलाकारद्धय धिरज मगर र उपासना सिंह ठकुरी, त्यस्तै बेहुली फ्रम मेघौली चलचित्रका कलाकारहरु निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का चलचित्रकै प्रमोशनका लागी उपस्थित थिए । यस्तै यहि असोज ९ (बुधबार) पनि शोको छायांकन राखिएको निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् । अगरवालका अनुसार बुधबार दुईवटा एपिसोडको छायांकन हुनेछ र दशैंको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेका चलचित्रका कलाकारहरु उपस्थित हुनेछन् ।

यस्तै निर्देशक श्रृद्धा प्रसाईले आफूहरुले नेपाली चलचित्रलाई प्रचार गर्नुपर्छ भन्ने मनसायले नै पुरा एपिसोड भरी चलचित्र बिशेष हास्य ब्यंग्य प्रस्तुती राख्ने गरेको बताइन् । बुझिए अनुसार आउँदो तिहारमा प्रदर्शन हुने तयारीमा रहेका चलचित्रका कलाकारहरु पनि कमेडी दरबारमा उपस्थित हुनेछन् । शो प्राईम टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर