सुदूरपश्चिम प्रदेशसभाः चालु आर्थिक वर्षको बजेट पारित — OSNepal

सुदूरपश्चिम प्रदेशसभाः चालु आर्थिक वर्षको बजेट पारित

LC (KTM) September 23, 2024 0

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशसभाको  बैठकमा प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले बैठकमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ सहित समग्र बजेट पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै आर्थिक मामिलामन्त्री थापाले सरकारले सुशासन र आर्थिक पारदर्शितासहित प्रदेशको समृद्धिका लागि इमानदार भएर बजेट ल्याएको स्पष्ट पार्नुभयो ।

मन्त्री थापाले बिचौलियाको चलखेलमा बजेट निर्माण नभएको र कसैले बिचौलियाको प्रभावमा परेर बजेट ल्याइएको प्रमाण पेस गरेमा त्यस्तो योजना कार्यान्वयन नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बजेटमाथिको आज भएको छलफलमा प्रतिपक्षी दलका सदस्यले बजेट निर्माणको प्रक्रियामा प्रदेशसभा सदस्यले दिएको सुझाव विपरीत बजेट आएको भन्दै असन्तुष्टि जनाउनुभयो । प्रतिपक्षी सदस्यले बजेट न्यायोचित नभएको र बजेट निर्माण गर्दा बिचौलियाको चलखेल हुन नदिन मुख्यमन्त्रीले गर्नुभएको प्रतिवद्धताको विपरीत बजेट आएको बताउनुभयो ।

सत्तापक्षीय दलका सदस्यले बजेट सकारात्मक रहे पनि छुटेका विषय बजेटमा समेट्नुपर्ने र बजेट निर्माण प्रक्रियामा प्रदेशसभाका सदस्यको भूमिकालाई स्थापित गर्नुपर्ने बताउनुभयो । बजेटमाथिको छलफलमा सत्तापक्षका प्रदेशसभा सदस्य सन्तोषी शर्मा थापा, दमनबहादुर भण्डारी, धर्मराज पाठक र डम्मरी महराले भाग लिनुभएको थियो ।

प्रतिपक्षी दलका सदस्य शिवसिंह ओली, प्रकाश रावल, दीर्घबहादुर सोडारी, लक्ष्मी विक र जानकीदेवी कुवँरले भाग लिनुभएको थियो ।

बैठकमा आर्थिक मामिलामन्त्री थापाले पेस गर्नुभएको ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१’ र ‘आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ माथि छलफल गरिएको थियो ।

सभामुख भीमबहादुर भण्डारीले बैठकमा प्रदेशसभामा रिक्त रहेका सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति र सामाजिक विकास समितिका सभापतिको निर्वाचन यही असोज ११ गते तोकिएको जानकारी गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले असार १ गते प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट छलफल हुन नपाउँदै सरकार अल्पमतमा परेपछि पारित हुन नसकेर बजेट अलपत्र परेको थियो । उक्त बजेट पारित नहुँदा प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।

नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले यही भदौ ३१ गते साविकमा प्रस्तुत गरिएको बजेटमा समान्य हेरफेर एवं परिमार्जन गरेर अर्को बजेट ल्याएको हो । सरकारले गत भदौ ३१ गते चालु आर्थिक वर्ष २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर