बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस — OSNepal

बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस

LC (KTM) September 22, 2024 0

मकवानपुर, ६ असोज : बागमती प्रदेशसभाको आज बसेको बैठकमा तीनवटा प्रतिवेदन पेस गरिएको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकालले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उक्त बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेस गर्नुभयो ।

सोही बैठकमा सभामुख भुवनकुमार पाठकले कार्य व्यवस्था परामर्श समितिको हेरफेरका क्रममा सांसद किरण थापा मगरको स्थानमा सांसद एकालाल श्रेष्ठलाई हेरफेर गरिएको जानकारी गराउनुभयो । तीनवटै प्रतिवेदनमाथि असोज ७ गते बस्ने प्रदेशसभा बैठकमा छलफल हुने प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

यसैगरी, उक्त बैठकमा मुख्यमन्त्री बहादुर सिं लामाले महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन, २०८१ प्रस्तुत गर्नुभएको थियो । सत्तापक्षका प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले राख्नुभएको ध्यानाकर्षणको प्रस्तावप्रति प्रदेश सरकारको ध्यानाकर्षण भएको सभामुख पाठकले बताउनुभयो ।

उक्त प्रस्तावमा काठमाडौँ जिल्लाको चन्द्रगिरि नगरपालिका–९ को २ (ख) मा विद्युत्को उच्च भोल्टेज भएको ट्रान्समिटर राखिएको जग्गामा सर्वसाधारणले आफ्नो कारोबार गर्ने अवसरबाट वञ्चित भएकाले प्रदेश सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणले ती नागरिकलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको अर्को बैठक असोज ७ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर