शिक्षामन्त्री भट्टराईद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल — OSNepal

शिक्षामन्त्री भट्टराईद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल

LC (KTM) September 22, 2024 0

काठमाडौँ, ६ असोजः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तीनवटा विश्वविद्यालयका उपकुलपतिसँग विश्वविद्यालयको पठनपाठन, परीक्षा, गुणस्तर, भौतिक र अन्य स्रोत साधनको व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ ।

उहाँले आफ्नो मन्त्रालयमा त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिसँग संयुक्त रुपमा विश्वविद्यालयको व्यवस्थापन र अध्यापनबारे छलफल गर्नुभएको मन्त्री भट्टराईको निजी सचिवालयले जनाएको छ ।

उहाँले देशका विश्वविद्यालयले रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादन गर्न विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्नेगरी शैक्षिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्रिविविका उपकुलपति डा केशरजङ्ग बरालले शैक्षिक ‘क्यालेन्डर’का आधारमा अध्यापन तथा परीक्षा र प्रश्नपत्रमा सुधार, विश्वविद्यालयको पुनःसंरचना, पाठ्यक्रम संरचना एवं पुनरवलोकन, पुस्तकालय सुधार, परीक्षा प्रणालीको ‘डिजिटाइजेसन’ र विश्वविद्यालयलाई विद्यार्थी तथा समाजको समुदायको नजिक पु¥याउने विषयमा जानकारी दिनुभएको थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछाने शास्त्री र आचार्य तहका पाठ्यक्रम परिमार्जन, पठनपाठनमा आधुनिक र पूर्वीय दर्शनको एकीकरण एवं आयुर्वेदका कार्यक्रम सञ्चालनका लागि जनशक्ति योजना र स्रोतसाधनको अध्यापन तथा पुस्तकको डिजिटाइजेसन गर्न प्रारम्भ भएको बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले आङ्गिक क्याम्पसको व्यवस्थापन, गाभ्ने र गाभिने तथा सम्बन्धन, शैक्षिक क्यालेन्डर, छात्रवृत्ति व्यवस्थापन, एवं विश्वविद्यालय अनुदान आयोग र मन्त्रालयको निरन्तर समन्वयका लागि मन्त्री भट्टराईसँग अनुरोध गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर