वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप — OSNepal

वीपी मेमोरियल अस्पतालमा बढ्दैछ बिरामीको चाप

LC (KTM) September 22, 2024 0

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दो क्रममा छ । विगत चार वर्षको तथ्यांकले यहाँ बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दो क्रममा रहेको देखाएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताए । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो संख्या एक लाख ६६ हजार २०० रहेको थियो ।
यस्तै, आव २०७८/७९ मा एक लाख ७४ हजार ९३५ र आव २०७७/७८ मा एक लाख ३१ हजार ३०५ ले सेवा लिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । सोही अवधिमा उपचारका लागि आएकामध्ये क्यान्सरका नयाँ बिरामीको संख्यासमेत बढ्दो अवस्थामा रहेको पाइएको छ । आव २०८०/८१ मा छ हजार ७९५, २०७९/८० मा छ हजार ४८०, आव २०७८/७९ मा छ हजार ५३५ रहेको र आव २०७७/७८ मा नयाँ बिरामीको संख्या दुई हजार ९७९ रहेको तथ्याङ्क छ ।

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेर एक सय शय्याबाट सुरु भएको अस्पतालमा हाल पाँच सय शय्याबाट सेवा प्रवाह भइरहेको छ । यसैबीच, अस्पतालले आफ्नो वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस विभिन्न कार्यक्रम गरी साताव्यापी रूपमा मनाउने जनाएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपानेले सप्ताहव्यापी कार्यक्रमको जानकारी गराउँदै असोज १० मुख्य कार्यक्रम रहेको जानकारी दिए ।

अस्पतालले रक्तदान, ३० वर्षदेखि ५० वर्षसम्मका महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बाल क्यान्सरसम्बन्धी सचेतना, विदेशी विज्ञसहितको गोष्ठी, म्याराथुनलगायत कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउन लागिएको अध्यक्ष डा न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर