वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजश्व — OSNepal

वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजश्व

LC (KTM) September 21, 2024 0

वीरगञ्ज (पर्सा), असोज ५ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ ।

भन्सार विभागले भदौसम्म ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार रुपियाँ राजश्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालु आवमा झण्डै एक अर्बले राजश्व बढेको जानकारी दिनुभयो । गत आवको भदौसम्म ३५ अर्ब ४४ लाख ४२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ७० प्रतिशत अर्थात् २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजश्व सङ्कलन भएको थियो ।

प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । “विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो ।

भन्सार विभागले गत साउनमा १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजश्व सङ्कलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा १८ अर्ब ७० करोड ४० लाख राजश्व सङ्कलनको लक्ष्य लिइएकोमा १३ अर्ब २३ करोड ९८ लाख राजश्व सङ्कलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर