अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा गीता शाही सर्वसम्मत निर्वाचित — OSNepal

अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा गीता शाही सर्वसम्मत निर्वाचित

LC (KTM) September 20, 2024 0

कास्की, ४ असोजः अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा आज राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित हुनुभयो । सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित हुनुभयो । यसैगरी सहसचिवमा हेमकुमारी सुनार ‘ज्योति’ (नवलपुर) निर्वाचित यचन भएकामा बाँकी दुई सहसचिव पछि चयन गरिने जनाइएको छ ।

यसअघि सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले संविधानमा व्यवस्था गरिएका महिलाका अधिकारहरू रक्षा गर्नका लागि सम्पूर्ण महिला सचेत र सजग रहनुपर्ने बताउनुभएको थियो ।

उहाँले लामो सङ्घर्षपछि प्राप्त अधिकार र उपलब्धिमाथि षड्यन्त्र हुनसक्ने भएकाले परिस्थितिसँग जुध्न तयार रहन अपिल गर्नुभयो । “अहिलेको संविधान माओवादी जनयुद्धले लेखिएको हो, यसमा धेरै अधिकार स्थापित छन् । संविधान संशोधनको बहानामा पुरानै संविधानतिर फर्काउने षड्यन्त्रसमेत हुनसक्दछ । त्यसैले संविधानको रक्षाका लागि सबै एकजुट हुनु आवश्यक छ”, उपाध्यक्ष भुसालले भन्नुभयो ।

पार्टीलाई आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन एक्लै चुनाव लड्न सक्ने बलियो शक्ति बनाउनेगरी पार्टी निर्माण गरिने उहाँले बताउनुभयो । पार्टी स्थायी समिति बैठकपछि सबै प्रदेशमा पार्टीका बैठक सम्पन्न भएको र आगामी केन्द्रीय समिति बैठकका लागि महत्त्वपूर्ण सुझाव नेता, कार्यकर्ताबाट प्राप्त भएको उपाध्यक्ष भुसालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो संविधानसभा निर्वाचनमा हामीले एकल बहुमत नजिक पुगेका थियौँ । त्यसपछि हाम्रो जनमत कम हुँदै गएको छ । हामी सत्तामा बढी केन्द्रित भयौँ, अब जनतामा जाने र बलियो पार्टी बनाउने गरी कार्यक्रम बनाउँदैछौँ ।” उपाध्यक्ष भुसालले राजनीतिक मान्यतामा पहिलो र दोस्रो ठूलो दलको सरकार बन्न नसक्ने भए पनि अघिल्लो सरकारले सुरु गरेका सुशासनलाई रोक्नका लागि हतार–हतार नयाँ सरकार बनेको टिप्पणी गर्नुभयो ।

माओवादी केन्द्रका सचिव दीननाथ शर्माले जनयुद्धमा नेपाली महिलाले गरेको ठूलो त्याग र बलिदानका कारण संविधानमा धेरै हक अधिकार स्थापित भएको बताउनुभयो । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरले जनयुद्धमा जस्तै अबको समाजवादी क्रान्तिमा समेत महिला शक्ति अग्रणी मोर्चामा उभिनुको विकल्प नभएको बताउनुभयो ।

सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर