राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल — OSNepal

राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल

LC (KTM) September 19, 2024 0

काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गर्न अपिल गर्नुभएको छ ।संविधान दिवस, २०८१ को अवसरमा राष्ट्रपति भवन शीलत निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उक्त अपिल गर्नुभएको हो । उहाँले भन्नुभयो, “हामी सङ्कल्प गराँै की हाम्रो राज्य, राजकाज र राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् । नागरिकको हितबाहेक हाम्रो राज्यको अरु कुनै स्वार्थ हुनेछैन ।”

राष्ट्रपति पौडेलले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प चाहिने उल्लेख गर्दै भन्नुभयो, “लक्ष्य प्राप्त गर्न साधना चाहिन्छ, लक्ष्य प्राप्त गर्न अविचलित भइ अगाडि बढ्ने अटल आस्था र उच्च नैतिक शक्ति चाहिन्छ । हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न आज महत्वपूर्ण सङ्कल्प गरौँ, पहिलो सङ्कल्प गरौँ, हामी लोकतन्त्रप्रति प्रतिबद्ध रहने छौँ । जस्तोसुकै अप्ठ्यारोमा पनि हामी लोकतन्त्रको गरिमालाई बचाउनेछाँै र नागरिकलाई केन्द्रमा राखेर अगाडि बढ्नेछौँ । अर्को सङ्कल्प गरौँ कि हामी सुशासन प्रति प्रतिबद्ध रहने छौँ तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्नेछौँ ।”

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेस्रो सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्धति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।” जस्तोसुकै परिस्थितिमा पनि देश, यसको स्वाधिनता र सार्वभौमिकतालाई झुक्न दिनेछैनौँ भन्ने अर्को सङ्कल्प गर्न उहाँले आग्रह गर्नुभयो । “पाँचौ, संकल्प गरौं कि हामी नागरिकको हितका लागि समर्पित हुनेछौ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

यी सङ्कल्प गर्दै मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा हामीले ध्यान दिनपर्ने केही महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उहाँले राज्यलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण, जनमुखी र सुशासित बनाउन आवश्यक रहेको बताउनुभयो ।

“राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न हामीलाई प्रभावकारी सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ, जसले नागरिकमा आशा जगाउन सकोस्, जसले नागरिकलाई यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित छ भनेर लोकतन्त्रप्रति भरोसा जगाउन सकोस”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले संविधानको वास्तविक कार्यान्वयन गर्दै सुशासन कायम गर्ने, विकास निर्माणलाई तिब्रता दिने र सेवा प्रवाहमा चुस्तता ल्याउनुपर्ने अहिलेको महत्वपूर्ण समयमा यसको पूर्ण कार्यान्वयनमा सबैले ध्यान दिनु अहिलेको आवश्यकता हो भन्नुभयो ।

राष्ट्रपति पौडेलले वेथिति र अनियमितताको अन्त्यमा जोड दिनुभयो । “वेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरूलाई जिर्ण र विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ । यसबाट नागरिकको भरोसा नडगमगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त ? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरू प्राप्त गर्न सक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ । आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनसिलतालाई कडाइका साथ कार्यान्वयन गर्न सङ्कल्प गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उत्साह र उमङ्गका साथ आज संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बाल्न राष्ट्रपति पौडेलले आग्रह गर्नुभयो । “यो निरास बस्ने समय होइन, यो हामीबीच आरोप प्रत्यारोप गर्ने समय होइन, यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन, यो एकताबद्ध हुने समय हो, यो आफैँप्रति विश्वस्त हुने समय हो, यो भविष्य उन्मुख हुने समय हो, आजको दिनले हामी सबैलाई निरासाबाट आशा र समृद्ध नेपाल निर्माणको बाटोतिर जान प्रेरणा दिन सकोस्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

आफ्नो संविधान आफैँ लेख्न पाउने हामीले पाएको यो सौभाग्य र अवसर कमैमात्र मुलुकका नागरिकले प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो गौरवशाली विश्व इतिहास कायम गर्न सफल भएकामा आजको विशेष दिनमा देशभित्र र बाहिर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभयो । “यो संविधानले हामीलाई लोकतन्त्र दिएको छ र हामीले इतिहासमै सबैभन्दा धेरै स्वतन्त्रता र सम्मान प्राप्त गरेका छौँ । यो संविधानले हामीलाई सङ्घीयता दिएको छ, अधिकार सम्पन्न स्थानीय तह दिएको छ र केन्द्रको अधिकार गाउँ गाउँसम्म पु¥याउने अवसर दिएको छ”, उहाँले भन्नुभयो, “एकात्मक र केन्द्रिकृत शासन प्रणालीको बदलामा प्राप्त सङ्घीयता हाम्रा लागि संविधानले दिएको महत्वपूर्ण उपहार हो, त्यसैले सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पारौँ ।”

वर्तमान संविधानले बहुलवादमा आधारित एक समावेशी नेपाल बनाउने अवसर दिएको र यसले निरंकुश तथा केन्द्रिकृत राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई मालिक बनाएको उहाँको भनाइ थियो । “राज्यशक्तिको स्रोत अब नेपाली नागरिक भएका छन्”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनौट भइ अहिले संविधानतः तीनै तहका सरकार क्रियाशील रहेको र सरकारमार्फत एक नयाँ भविष्यको यात्रामा आबद्ध भएका छौँ भन्दै उहाँले संविधानले प्रदान गरेका यी महत्वपूर्ण उपलब्धिहरू भएको उल्लेख गर्नुभयो । यिनै उपलब्धिहरूका जगमा हाम्रो भविष्यको सुुखद् यात्रा प्रारम्भ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“त्यो यात्रा मुख्यतः नेपाली नागरिकले परिवर्तनका आन्दोलनमा देखेका सपना पूरा गर्ने नयाँ आशा, अपेक्षा र विश्वाससहितको गौरवमय यात्रा हुनुपर्छ भन्ने पनि मलाई लाग्छ, अतः यो हाम्रो पुस्ताको काँधमा आएको महत्वपूर्ण जिम्मेवारी पनि हो भनेर हामी सबैले बुझ्नुपर्छ, यो जिम्मेवारी पूरा गर्न एउटा लक्ष्यसहित अघि बढ्न आज हामी दृढ भएर संकल्प गरौं”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

संविधानमार्फत यो राष्ट्र निर्माणको समय हो र यसका लागि हामीले राज्यको आवधिक र दीर्घकालीन लक्ष्य निर्धारण गर्न आवश्यक छ भन्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो । “जुन लक्ष्य, हामी सबै नेपालीको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा सबै राजनीतिक दलको साझा लक्ष्य बनोस्, जुन लक्ष्य, हाम्रा प्रत्येक युवाहरूको साझा लक्ष्य बनोस् र त्यसले हामी सबैलाई एकतावद्ध भइ अगाडि बढ्न प्रेरित गरोस”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले यसले गर्दा हाम्रा सन्ततिहरूले भोलि हामीमाथि गर्व गरुन् र भनुन् हाम्रा पुर्खाहरूले आजभन्दा धेरै वर्ष अगाडि जुन लक्ष्य बनाए, त्यो नै हाम्रो स्वर्णकाल हो, हाम्रा पुर्खाहरूले लोकतन्त्रको आलोकमा अगाडि बढ्ने जुन सङ्कल्प गरे, त्यो इतिहासकै सबैभन्दा महत्वपूर्ण क्षण थियो भन्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारी तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव तथा सर्वसाधारणको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाले विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर