पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने — OSNepal

पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने

LC (KTM) September 12, 2024 0

चितवन, २७ भदौः पवित्र तीर्थस्थल देवघाट धाममा धार्मिक महोत्सव हुने भएको छ । महोत्सवमा धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा), योग गुरु रामदेव, आचार्य बालकृष्ण लगायतका सन्त महन्तको ठूलो सहभागिता हुने भएको हो ।

भरतपुर भ्रमण वर्षको सन्दर्भमा देवघाट क्षेत्र विकास समिति र उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गर्न लागेका हुन् । भरतपुर महानगरपालिका र देवघाट गाउँपालिका महोत्सवका प्रवद्र्धक रहने छन् । गैंडाकोट नगरपालिकालाई पनि प्रवद्र्धक लागि आग्रह गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको एक टोलीले महोत्समा उपस्थित हुनका लागि बागेश्वर बाबा, योगगुरु रामदेव र आचार्य बालकृष्णलाई निम्तो गरेर आएको हो । दिल्लीमा निम्तो गरेपछि उहाँहरुकै आग्रहमा हरिद्वार पुगेर बैठक बसी कार्यक्रममा सहभागी हुने निर्णय भएर आफूहरु फर्किएको दाहालले बताउनुभयो । उहाँहरु तीन दिनसम्म देवघाटमा रहनु हुनेछ ।

महोत्सव आगामी कात्तिक २७ गते ठूली एकादशीबाट पाँच दिनसम्म चल्नेछ । भरतपुर–१ देवघाटस्थित नदी तटीय क्षेत्रमा महोत्सव हुनेछ । प्रमुख दाहालले भन्नुभयो, “महोत्सवमा लाखौंको उपस्थिति रहने र अन्तर्राष्ट्रिय जगतलाई देवघाटको महिमाका बारेमा बुझाउने अवसर मिल्ने छ ।” धार्मिक पर्यटन प्रवद्र्धन गर्न महोत्सव फलदायी हुने उहाँको भनाइ छ ।

महोत्सवका संयोजक देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले यो महोत्सव अहिलेसम्मकै यहाँको ठूलो महोत्सव हुने बताउनुभयो । यो शङ्कर मोचन महायज्ञ भएको भन्दै उहाँले दैनिक एक लाख बढी भक्तजन आउने अपेक्षा गरिएको बताउनुभयो ।

महोत्सवमा नेपाल र भारतका सन्त महन्त, महामण्डलेश्वर, जगतगुरु, पीठाधिश, धार्मिक गुरुलगायतको उपस्थिति हुने पौडेलको भनाइ छ । यो महोत्सवले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पौडेल बताउनुहुन्छ । धार्मिक गुरुहरुको उपस्थितिमा गण्डकी परिक्रमा लगायतका धार्मिक कार्यक्रमसमेत गरिँदै छ ।

दाहालसँगै पौडेल र सामाजिक व्यक्तित्व उमाशङ्कर अग्रवाललाई दिल्लीस्थित हाम्रो स्वाभिमान ट्रष्टले सम्मान गरेको थियो । सम्मानपछि उहाँहरुले औपचारिक रुपमा धार्मिक गुरुहरुलाई निम्तो दिनुभएको हो । सन् २०२४ लाई महानगरपालिकाले भ्रमण वर्षको रुपमा मनाइरहेको छ । कोभिडपछि सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन केही हदसम्म भ्रमण वर्ष सहयोगी बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर