प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक पारित — OSNepal

प्रतिनिधिसभाको बैठकबाट सार्वजनिक सेवा प्रसारण विधेयक पारित

LC (KTM) September 10, 2024 0

काठमाडौँ, २५ भदौः प्रतिनिधिसभाको आजको बैठकबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१’ बहुमतले पारित भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक पारित गरियोस् भनि प्रतिनिधिसभामा प्रस्ताव पेस गर्नुभएको थियो । नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक तथा विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गर्न सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुन आवश्यक रहेको सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

राष्ट्रिय आमसञ्चार नीति, २०७३ मा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रुपमा रुपान्तरण गरी लोकतान्त्रिक मूल्य मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी सञ्चारमाध्यमका रुपमा विकास गर्ने उल्लेख भएकामा सो व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले यो विधेयक ल्याएको हो ।

अहिले रेडियो नेपाल र नेपाल टेलिभिजन छुट्टाछुट्टै संस्थाका रुपमा सञ्चालन भइरहेकामा यी दुवै संस्थालाई सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण गर्दा सुदृढ, सबल र सशक्त सार्वजनिक प्रसारणमाध्यमका रुपमा विकास गर्न सकिने सरकारको बुझाइ छ ।

यसरी दुई संस्था गाभिएर बन्ने सार्वजनिक सेवा प्रसारण संस्थाको एक छुट्टै कोष रहने व्यवस्था विधेयकमा राखिएको छ । उक्त कोषमा सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त अनुदान, विदेशी सरकार वा विदेशी सङ्घ संस्थाबाट प्राप्त रकम र सार्वजनिक सेवा प्रसारण संस्थाको आम्दानीबाट प्राप्त रकम जम्मा हुने व्यवस्था राखिएको छ ।

विधेयकको प्रस्तावनामा संविधानद्वारा पदत्त नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रत्याभूत गर्न, तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार, शिक्षा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी राष्ट्रिय एकता एवम् राष्ट्रिय हित प्रवर्द्धन गर्न तथा समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न जनउत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना र सञ्चालनका लागि यो कानुन आवश्यक रहेको उल्लेख छ ।

त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्था एक अविछिन्न उत्तराधिकारीवाला स्वशासित र सङ्गठित संस्थाका रुपमा रहने विधेयकमा उल्लेख छ । सार्वजनिक सेवा प्रसारण संस्थाको नीति निर्माण गर्न तथा सो संस्थाले सम्पादन गर्नुपर्ने कार्यका लागि नीतिगत निर्देशन दिन सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा एक परिषद् रहने व्यवस्था राखिएको छ ।

त्यस्तो संस्थामा सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष, मन्त्रालयले तोकेको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत र मन्त्रालयले मनोनित गरेको कम्तीमा एक जना महिलासहित तीनजना सदस्य रहने व्यवस्था राखिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावपछि विधेयकमाथि प्रतिनिधिसभाको बैठकमा छलफल भएको थियो ।

छलफलमा भाग लिने सांसदहरुले सार्वजनिक सेवा प्रसारण संस्था सरकार र मन्त्रालयको प्रत्यक्ष हस्तक्षेपबाट मुक्त हुनुपर्ने र सम्पादकीय स्वतन्त्रता दिइनुपर्ने धारणा राख्नुभयो सांसद सुमना श्रेष्ठले सार्वजनिक सेवा प्रसारण संस्था सरकारको हस्तक्षेपबाट मुक्त र स्वायक्त हुनुपर्ने बताउनुभयो । यस्तो संस्था सरकारप्रति आलोचनात्मक हुन सक्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सांसद प्रेम सुवालले राष्ट्रिय एकता र निष्पक्ष प्रेसको प्रत्याभूति हुनेगरी यस्तो संस्था निर्माण गर्न सक्नुपर्ने बताउनुभयो । सञ्चारमाध्यमबाट तथ्यपरक सूचना सम्प्रेषण नहुँदा आर्थिक अनियमिता मौलाएको पनि उहाँले उल्लेख गर्नुभयो । सार्वजनिक सेवा प्रसारण संस्था तथ्यपरक र निष्पक्ष हुनुपर्ने धारणा सुवालले राख्नुभयो ।

त्यसैगरी, सांसद रघुजी पन्तले नेपालका सञ्चारमाध्यमहरु बिबिसीको मोडलमा सञ्चालन गर्नसक्नुपर्ने बताउनुभयो । मुलुकको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगतमा देखिएका नयाँ अवधारणा र चुनौतीलाई यो विधेयकले समेट्न सक्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

सांसद सोबिता गौतमले विधेयकमा उक्त संस्थाको नीतिगत निर्देशन दिनका लागि गठित परिषद्को अध्यक्ष मन्त्री राखिएकोमा विमति जनाउनुभयो । सञ्चारमाध्यमले सरकारका काममा पनि प्रश्न गर्ने र आलोचना गर्न सक्नुपर्ने उल्लेख गर्नुहुँदै गौतमले सञ्चारमाध्यमलाई मन्त्रीको मातहतमा राख्दा स्वतन्त्र र निष्पक्ष रुपमा सरकारको आलोचना गर्न नसक्ने बताउनुभयो । आफूले विगतमा नेपाल टेलिभिजनमा कर्मचारीका रुपमा काम गरेको स्मरण गर्नुभयो ।

त्यस्तै, सांसद अच्युतप्रसाद मैनालीले सार्वजनिक सेवा प्रसारण संस्थाले जनताको बीचमा गएर जनताबाटै सूचना लिने र जनताकै लागि सम्प्रेषण गर्ने भएकाले नागरिकका आवाज बढी सुन्नुपर्ने बताउनुभयो । जनता र सरकारबीच भावनात्मक रुपमा जोड्ने सेतुका रुपमा यो संस्थाले काम गर्नसक्नुपर्ने उहाँको भनाइ छ ।

सार्वजनिक सेवा प्रसारण संस्थाले राज्यपक्षको वकालत मात्र गर्ने नभई जनताका कुरा पनि मुखारित गर्न सक्नुपर्ने बताउनुभयो । त्यस्तै, सार्वजनिक सेवा प्रसारण संस्थालाई संसदप्रति जवाफदेही बनाउन सक्नुपर्ने धारणा राख्नुभयो । संस्थाको नीतिगत निर्देशन दिनका लागि गठित परिषद्को अध्यक्ष सभामुख, उपसभामुख वा विषयगत समितिका अध्यक्षलाई बनाउने सकिने विचार उहाँले व्यक्त गर्नुभयो ।

सांसद प्रेमबहादुर महर्जनले संस्थाले सूचना तथा सञ्चारका क्षेत्रमा भएको परिवर्तनलाई अङ्गीकार गर्ने र नेपालभित्रका विभिन्न भाषामा समाचार दिने तथा कार्यक्रम सञ्चालन गर्ने विषयलाई प्राथमिकता दिनसक्नुपर्ने बताउनुभयो ।

सांसद किरणकुमार साहले विधेयकमा राकिएका व्यवस्थाले सार्वजनिक सेवा प्रसारण संस्थाको सम्पादकीय स्वतन्त्रतालाई कायम राख्न नसक्ने दाबी गर्नुभयो । सार्वजनिक सञ्चारमाध्यमहरुको मुख्य उद्देश्य जनताको आवाज सशक्त बनाउनु, सूचना दिने, शिक्षा दिने र मनोरञ्जन प्रदान गर्ने रहेको बताउनुहुँदै उहाँले सरकारको नियन्त्रणमा संस्था निष्पक्ष हुन्छ भन्नेमा शङ्का गर्ने ठाउँ रहेको धारणा राख्नुभयो ।

सांसद मनिष झाले नेपालका सरकारी सञ्चारमाध्यमहरु स्वतन्त्र, निष्पक्ष र बौद्धिक रुपमा उदार हुन नसकेको बताउनुभयो । सार्वजनिक सेवा प्रसारण संस्था सरकार वा मन्त्रीको नियन्त्रणमा रहने भन्दा पनि संसदले नै नेतृत्व दिनुपर्ने विषय सकारात्मक रहेको धारणा राख्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक २०८१ भदौ २६ गते बुधबार दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर