बाँकेको नरैनापुरमा एक बालिकामा जापनिज इन्सेफ्लाइटिस पुष्टि : अवस्था सामान्य — OSNepal

बाँकेको नरैनापुरमा एक बालिकामा जापनिज इन्सेफ्लाइटिस पुष्टि : अवस्था सामान्य

LC (KTM) September 10, 2024 0

नेपालगञ्ज (बाँके), २५ भदौः बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिनुभयो ।

उहाँले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताउनुभयो । “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि भयोे”, उहाँले भन्नुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भेरी अस्पतालमा भर्ना भएकी नरैनापुर –१ मतहनियाका नौ वर्षीया बालिकामा जापनिज इन्सेफ्लाइटिस भएको पुष्टि भएको बताउनुभयो । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ । उहाँले जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने भेरी अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताउनुभयो ।

यसैबीच भेरी अस्पतालमा झाडाबान्ताका बिरामीका लागि अलग वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरिएको छ । डा खड्काका अनुसार यस्ता वार्डमा तीनजना बालबालिकाको उपचार भइरहेको छ । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर