बिपीको आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्नेमा सभापति बानियाँको जोड — OSNepal

बिपीको आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्नेमा सभापति बानियाँको जोड

LC (KTM) September 09, 2024 0

पाटन (ललितपुर), २४ भदौ : बिपीको आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्नेमा जोड दिइएको छ । १११औँ नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘स्मृतिमा विपी’ विषयक विचार गोष्ठीका वक्ताहरूले आदर्श बोल्नका लागि भन्दा पनि कार्यान्वयनका लागि भएको बताएका हुन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बिपीको सोच अनुसारको चेतनालाई हरेक जनप्रतिनिधिहरूले व्यवहारमा लागू गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिपीलाई पर्व विशेष र दिन विशेषमा सम्झिनेभन्दा दिनप्रति दिन व्यवहारमा लागू गरौँ, पद ठूलो हैन, लक्ष्य र चिन्तन ठूलो हो ।”

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले बिपीको नेतृत्वमा गठन भएको सरकारले १८ महिना गरेको काम अहिलेसम्म कुनै सरकारको पालामा नभएको दाबी गर्नुभयो । बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले विसं २०३६ को जनमत सङ्ग्रहको समयमा बिपीले ललितपुरको चापागाउँमा सम्बोधन गर्नुभएको स्मरण गर्नुभयो ।

जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले बिपीको आदर्श र चरित्रलाई अवलम्बन गर्ने पार्टी कांग्रेसले अब ललितपुरका जनतामा जाँदा कुनै दाग नदेखिने र पार्टीको अनुशासनमा रहने निष्ठावान व्यक्तिलाई उम्मेदवार बनाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर