प्रतिनिधिसभाको पूर्वाधार विकास समितिद्वारा अरनिको लोकमार्गको अनुगमन — OSNepal

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिद्वारा अरनिको लोकमार्गको अनुगमन

LC (KTM) September 09, 2024 0

सिन्धुपाल्चोक , २४ भदौ : प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले अरनिको लोकमार्गअन्तर्गत विभिन्न भागको अनुगमन गरेको छ । काठमाडौँदेखि चीनसँगको सिमाना लिपिङसम्म पुगेर आइतबार र सोमबार संसदीय समितिका ११ सदस्यले सडकको विभिन्न खण्डको स्थलगत अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा विभिन्न स्थानमा सडकको अवस्था निकै नाजुक र जीर्ण पाइएको भन्दै समितिले सम्बद्ध पक्षलाई बैठकमा बोलाएर छलफल गर्ने एवं सरकारलाई लिखित निर्देशन दिने भएको छ ।

समितिका सदस्यहरूले लोकमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको ‘धुलीखेल खावा’ खण्ड, सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने कोठे पहिरो क्षेत्र, खाडीचौरमा मुआब्जा विवादले रोकिएको पक्की पुल निर्माणको काम, जुरे पहिरो खण्ड, बाह्रबिसेको खागदल, भोटेकोशीको डाकलाङ, १० किलो, कोदारी र लिपिङ क्षेत्रको अनुगमन गर्नुभएको हो । समिति सदस्यहरूले नेपाल–चीन सीमा नाकासम्म पुगेर सडक, अध्यागमन, भन्सार संरचनाको अवस्था पनि अवलोकन गर्नुभएको थियोे ।

समितिका सदस्य एवं सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद माधव सापकोटाको प्रस्तावमा अनुगमनको कार्यक्रम तय भएको समितिले जनाएको छ । अनुगमन कार्यक्रमका संयोजक शङ्कर भण्डारीले संसद र समितिमा लोकमार्गका कठिनाइबारे पटकपटक विषय उठान भएपछि सापकोटाको प्रस्तावमा कार्यक्रम तय भएको बताउनुभयो ।

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि, सडक विभागका प्रमुख तथा प्रतिनिधि, प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा समितिले अनुगमन र छलफल गरेको हो ।

सुरुमा काभ्रेको धुलीखेल खावा क्षेत्रको अनुगमन र सम्बद्ध सबै पक्षसँग छलफल गरेको समितिले दिउँसो सिन्धुपाल्चोकमा पर्ने सडक खण्डको अनुगमन गरेको थियो । अनुगमन र विस्तृत छलफलपछि समितिले २०८० चैतमा सम्पन्न भइसक्नुपर्ने धुलीखेल खावाको चार किलोमिटर सडक निर्माण पक्षले गरेको चरम लापरबाहीका कारण अझै अन्योलग्रस्त अवस्थामा रहेको एवं सडक प्रयोगकर्ताले पीडा भोग्नुपरेको निष्कर्ष निकालेको छ ।

यस सम्बन्धमा समितिको बैठकमा थप छलफल गरेर सरकारलाई लिखित निर्देशन दिइने अनुगमनमा सहभागी समितिका सदस्य सांसद ठाकुर गैरेले जानकारी दिनुभयो । सडक अनुगमनपछि साँझ तातोपानी भन्सार कार्यालयमा भएको अन्तरक्रियामा समिति सदस्य सापकोटाले राष्ट्रिय महत्त्वको लोकमार्गको दुरावस्था र यसको स्तरोन्नतिको विषयमा संसद र समितिमा विषय उठान गरेको बताउनुभयो । उहाँले यस वर्ष जुरे–तातोपानी खण्ड स्तरोन्नतिका लागि रु एक अर्ब २३ करोड विनियोजन भएकाले सो बजेटको सही सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

समितिले सिन्धुपाल्चोकको जुरेदेखि तातोपानी नाकासम्मको सडक स्तरोन्नतिमा ढिलाइ गर्दा सिन्धुपाल्चोकका जनतालाई मात्रै नभएर सिँगो राष्ट्र र अन्तर्राष्ट्रिय छविमा असर गर्ने निष्कर्षसहित यस विषयमा छलफल गर्न सम्बद्ध अधिकारीहरू डाकेर छलफल गरी लिखित सुझाव दिने बताएको छ ।

अनुगमन संयोजक भण्डारीले तातोपानी देशको महत्त्वपूर्ण नाका भएको बताउँदै सीमासम्म पुग्ने लोकमार्गको स्तरोन्नतिका लागि समितिमा गम्भीर छलफल गरी सम्बद्ध पक्षलाई लिखित निर्देशन दिने बताउनुभयो । समिति सदस्य बिना लामाले अरनिको लोकमार्गको विभिन्न स्थानको अवस्था कष्टप्रद पाइएको बताउनुभयो ।

अनुगमनमा समिति सदस्यहरू सापकोटा, गैरे, भण्डारी, विना लामा, कल्पना चौधरी, दयालबहादुर शाही, मैना कार्की, लालबिर चौधरी, प्रतिमा गौतम र सुशीला श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । यस्तै अनुगमनमा बागमती प्रदेशसभा सदस्य सरल सहयात्री, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, आयोजनाका निर्माण पक्ष, सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।

कूल एक सय १४ किलोमिटर लामो अरनिको लोकमार्गको ५७ किलोमिटर सिन्धुपाल्चोकमा र ५७ किलोमिटर काभ्रे र भक्तपुरमा पर्छ । विसं २०७१ सालको जुरे पहिरो, विसं २०७२ को महाभूकम्प र सो क्षेत्रमा पटकपटक गएको बाढीपहिराका कारण सिन्धुपाल्चोकको जुरे लिपिङ खण्डको २६ किलोमिटर सडकको अवस्था जीर्ण छ । धुलीखेल खावा खण्डको चार किलोमिटर बाटो तीन वर्षयता समस्याग्रस्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर