नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन हुनुपर्ने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको अदालती फैसलाबाट उत्पन्न उपत्यकाका नदी किनाराको जग्गा समस्या र समधान बिषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले अदालतको फैसलाले जनतालाई निकै असर पर्ने देखिएकाले पुनरावलोकनमा जानुपर्ने बताउनुभएको हो ।
अदालतले पनि जनताको समस्यालाई मध्यनजर गर्दै उचित न्याय दिने उहाको भनाइ छ । उहाले राज्य वा कसैको कारणले जनतालाई समस्यामा पार्न नहुने र दिर्घकालीन योजना बनाएर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले समयमा नै कानून बनाउन नसक्दा र राज्य कमजोर हुँदा बेला बेला बिभिन्न समस्या देखापर्ने गरेको धारणा राख्नुभयो ।
उहाले कुनै पनि अवस्थामा नागरिकलाई घरवार बिहीन बनाउन नहुने बताउनुभयो । आफुहरु अहिले प्रतिपक्षमा रहेकाले बोल्ने र दवाव दिनेमात्रै काम गर्ने भन्दै उहाले राज्यका निकायमा रहेका व्यक्तिहरुले काम गर्नुपर्ने धारणा राख्नुभयो ।