‘पूर्ण बहादुरको सारङ्गी’: विजय बराल भन्छन्– चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ — OSNepal

‘पूर्ण बहादुरको सारङ्गी’: विजय बराल भन्छन्– चरित्रलाई न्याय गर्दा मैले पनि माया पाएँ

LC (KTM) September 08, 2024 0

काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘चलचित्र पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक हुनबित्तिकै धेरैले सामाजिक सञ्जालमा टिजरले मन छोयो भन्दै सेयर गरे ।चलचित्रकर्मी र आम दशर्कले टिजरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । दर्शकको मायाले पोस्ट–प्रोडक्सनमा रहेको चलचित्रमा थप मेहनत गर्ने उत्साह पलाएको बताएका छन् । सँगै उनीहरूले चुनौती र जिम्मेवारी थपिएको महसुस पनि गरेका छन् ।

चलचित्रको मुख्य भूमिकामा रहेका विजय बराल दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । आफ्नो कामको तारिफ हुँदा खुसी लागेको भन्दै उनी भन्छन्, “यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा उर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि फरक तरिकाले काम गर्न पाएँ ।”

दर्शकले कमेडी जनरामा अथवा केही फरक तरिकाले देख्दै आए पनि यसपटक मुख्य चरित्रमा र त्यो पनि व्यक्तिभन्दा पात्रलाई स्थान दिँदा त्यसको परिणामको प्रतिक्रिया आइरहेको उनी बताउँछन् । आफूले ‘पूर्ण बहादुरको सारङ्गीमा विशेष चरित्रमा भिजेर काम गर्न पाएको उनले बताए ।

“मलाई टिजरमा जसरी देखाइएको छ, त्यो पात्रको इमोशनले पनि धेरैको ध्यान तानेको जस्तो लाग्छ,” उनी भन्छन्, “मलाई धेरैले व्यक्तिगत रुपमा र कमेन्ट गर्दा त्यही प्रतिक्रिया आइरहेको छ । टिजर हेरेर विजयले चरित्रअनुसार न्याय गर्नसक्छ भन्ने भाव पैदा गराइदिनु भएको छ ।”

कलाकारका लागि यही माया र विश्वास नै सबैभन्दा ठूलो उपलब्धी र सम्पत्ति भएको उनको भनाइ छ ।

“चलचित्रको टिजर रिलिज भएपछि, हामीले सामाजिक सञ्जाल, युट्युबका कमेन्ट र व्यक्तिगत सन्देशहरूमा उत्कृष्ट प्रतिक्रिया पाएका छौँ,” निर्माता प्याट्रिक सुवेदीले भने, “धेरै दर्शकले नेपाली चलचित्र प्रायः आमाको संघर्ष देखाउन केन्द्रित हुने तर बुवाछोराको सम्बन्धलाई ठूला पर्दामा विरलै देखाइने गरेको बताइरहेका छन् । सिनेमाको यो आइडियालाई पनि मन पराइरहनु भएको छ ।”

उनले कमेन्टमा दर्शकले टिजरले मन छोयो भनेर लेखेको भन्दै अब चलचित्र पनि त्यस्तै मन छुने बन्ने बताए । “धेरैले गीतका शब्दहरूलाई निकै माया गरेको पाएका छौँ । हजारौँ दर्शकले यो टिजरलाई बुवाको दिनको उपहारको रूपमा सेयर गर्नु भएको छ,” उनले भने, “अब चलचित्र नै बुवालाई छोराछोरीले बुवालाई समपर्ण गर्नेगरी बनाइरहेका छौँ ।” दर्शकले टिजर हेरेर गरेको भरोसालाई पूरा गर्न आफूहरू प्रयत्नशील रहेको उनले बताए ।

निर्माता विनोद पौडेलले टिजरले चलचित्रप्रति आशा र अपेक्षा दुवै बढाएको बताए । यो अपेक्षालाई अब जसरी पनि पूरा गर्नु आफूहरूको दायित्व भएको उनको भनाइ छ ।

“टिजर आएपछि यति धेरै माया पाइयो, सायद हामीले टिजरबाटै यति धेरै अपेक्षा गरेका थिएनौँ होला । टिजरले चलचित्रप्रति धेरै दर्शकको आशा बढेको छ,” विनोद दर्शकलाई आश्वस्थ पार्दै भन्छन्, “तर चलचित्रको कन्टेन्ट बलियो भएका कारण हामी दर्शकको आशा चलचित्रबाट पूरा हुनेमा ढुक्क छौँ ।” आफूहरूले गरेको मेहनतको प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

निर्देशक सरोज पौडेलले दर्शकको प्रतिक्रियाले थप मेहनत गर्ने उर्जा भरेको बताएका छन् । उनले यो प्रतिक्रियालाई आफूले मायाभन्दा पनि चुनौतीका रूपमा लिएको बताए ।

“हामीले चलचित्रमा जे कुरा भन्दैछौँ र टिजरमा जे देखायौँ वास्तवमा यो हामी आम निम्न मध्यमबर्गीय परिवारका नेपालीको कथा हो,” निर्देशक पौडेलले भने, “त्यसैले धेरैलाई आफ्नै कथाजस्तो लागेर मन पर्यो होला, कतिले आफ्नै टोल छिमेकमा देखेको विषय र घटना भएर मन पर्यो होला ।”

आफूहरूले आफ्नै गाउँ ठाउँ र माटोको कथा भन्नुपर्छ भनेर यो विषय रोजेको र त्यसको उचित मूल्यांकन भइरहेको रुपमा आफूले यसलाई लिएको पौडेलले बताए ।सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजयसँगै प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।

सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो । चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर