काठमाडौं, १७ भदौ- कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्रीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले खत्रीलाई १ लाख १० हजार भारतीय रूपैयाँ सहित पक्राउ गरेको छ ।
रूपन्देही, सियारी गाउँपालिका-२ मनोहरापुर बस्ने ४० वर्षीय भोला भुजल र तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय सुरेश थारूलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापा, गौरादह नगरपालिका-३ धिविनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ मिलिग्राम, मोबाइल १ थान र नगद ४ हजार ५ सय रूपैयाँ सहित कमल गाउँपालिका-५ बस्ने २१ वर्षीय दिपेन्द्र ताजपुरियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले गौरीगंजबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।