हेन्द्रनगर (धनुषा), १० भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कृष्ण जन्माष्टमीका अवसरमा शुभकामना दिनुभएको छ । सोमबार उहाँले शुभकामना सन्देश जारी गर्दै ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी श्रद्धा, भक्ति र आनन्दको उत्सव भएको र यसले युगीन चेतनाबोध तथा शक्ति सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री सिँहले सत्य, प्रेम र करुणासँगै इमानदारी एवम् निष्ठाका पयार्य भगवान् श्रीकृष्ण दर्शनले जीवनजगत्लाई युगौँसम्म अनुप्राणित गरिरहने भन्दै जन्मलाई जीवनमा रूपान्तरण गर्ने श्रीकृष्णको जीवनशैली प्रेरणादायी र अनुकरणीय रहँदैआएको सन्देशमा उल्लेख गर्नुभएको छ ।
उहाँले भगवान् श्रीकृष्णले जीवनका प्रत्येक पल, पक्ष र व्यक्तिलाई पूर्णतामा बाँचेको उदाहरणबाट जीवनमा आइपर्ने कठिन, जटिल र असहज समयमा पनि व्यक्तिले उल्लासभावका साथ अघि बढ्न प्रेरित भइरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।