‘विपद् व्यवस्थापनमा तीनै तहको साझेदारीमा काम भइरहेको छ’ - ओली — OSNepal

‘विपद् व्यवस्थापनमा तीनै तहको साझेदारीमा काम भइरहेको छ’ – ओली

LC (KTM) August 22, 2024 0

काठमाडौँ, ६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा तीन वटै तहको साझेदारी भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिँदै उहाँले विपद्पछिको पुनःनिर्माण र पुनःस्थापनामा तीनै तहका सरकारले सहकार्य र साझेदारी गरिरहेको उल्लेख गर्नुभयो ।

“सीमित स्रोत र साधनका बाबजूद पनि विपद् प्रभावितको उद्धार, राहत र व्यवस्थापनमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्थानीय सरकारले अहोरात्र काम गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

अहिले मनसुनको समय चलिरहेको उल्लेख गर्दै उहाँले बाढी, पहिरालगायतका प्राकृतिक विपत्तिबाट हुने क्षति वा जोखिम न्यूनीकरण गर्न र जनधनको क्षति हुन नदिन संवैधानिक र कानूनी प्रावधान बमोजिम तीनै तहबीच समन्वय र सहयोगमा काम भइरहेको बताउनुभयो ।

खाद्य सुरक्षाका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञासामा उहाँले बिस्तृत आधार भएको दिगो आन्तरिक चक्रीय अर्थतन्त्र विकासका लागि कृषिमा लगानी गर्न कृषिको क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता महसुस गरी कृषिमा लगानी दशक घोषणा गरिएको जानकारी गराउनुभयो ।

“कृषिमा लगानी दशकको अवधारणा कुनै परियोजनाका रुपमा नभई सङ्घ, प्रदेश र स्थानीय तह एवं निजी, सहकारी, विकास साझेदार सबैलाई यस क्षेत्रमा अर्थपूर्ण लगानीका लागि अभिप्रेरित गर्ने एक अभियानका रूपमा सरकारले घोषणा गरेको हो”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर