राष्ट्रियसभाः ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’ — OSNepal

राष्ट्रियसभाः ‘थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ’

LC (KTM) August 18, 2024 0

काठमाडौँ, २ भदौः राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं सांसद सोनामगेल्जेन शेर्पाले शुक्रबार सोलुखुम्बुको थामेमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यनाकर्षण गराउनुभयो । आजको बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै उहाँले भन्नुभयो, “सोलुखुम्बुको थामेमा भीषण बाढीका कारण घरहरु क्षतिग्रस्त भएको, एकजना बेपत्ता भएको, पशुचौपायाको लागत आउन बाँकी छ, विद्युत् र सञ्चार क्षेत्रमा पूर्ण रुपमा क्षति भएको छ । यथाशीघ्र यसको विवरण सङ्कलन गरी थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्न सरकारले पहल लिनुपर्छ ।”

सांसद शेर्पाले सरकारले स्थलगत अध्ययन गरी आवश्यक मात्रामा पीडितहरुलाई राहत वितरण गरेकोप्रति सरकारको प्रशंसा गर्नुभयो । उहाँले नेपालमा पछिल्लो समयमा वातावरण परिर्वतनको असर देखिन थालेको बताउँदै वातावरण र जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राख्नुुभयो ।

ज्लवायु परिवर्तनबारे नेपालमा भएगरेका अध्ययन÷अनुुसन्धानबारे जनता सुसूचित गर्न नसकिएको सांसद शेर्पाले बताउनुभयो । “थामे नजिकै रहेका पोखरीहरु कति खतरामा छन् भन्नेबारे विभिन्न सङ्घसंस्थाले अध्ययन गरिरहेका छन् तर सरकारसँग तथ्याङ्क प्राप्त भएको छैन”, उहाँले भन्नुभयो । उहाँले नेपालमा गरिने सबै अनुसन्धानको तथ्य सरकारले राख्नुपर्ने माग गर्नुभयो ।

सरकारले मुलुकमा हुने अध्ययन अनुसन्धानका लागि छुट्टै रकमको व्यवस्था गर्नुपर्ने भन्दै सोलुखम्बुका विभिन्न स्थानमा बाढीको जोखिम न्यूनीकरण गर्न दीर्घकालीन समाधानका उपाय अपनाउनुपर्नेमा सांसद शेर्पाले जोड दिनुभयो । उहाँले विद्युत् नहुँदा सोलुखुम्बुका धेरै स्थानमा उद्योगहरु बन्द भएको सुनाउँदै तत्काल विद्युत्को समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

सांसद शेर्पाले भन्नुभयो, “थामे क्षेत्रको बस्तीलाई अन्यत्र सार्नका लागि सरकारले पहल लिनुपर्छ साथै त्यहाँ रहेका चारवटा पोखरीको जोखिमबारे अध्ययन गरी समाधानका उपाय निकाल्नु जरुरी छ ।” आगामी दिन सरकारले हिमाली क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर