काठमाडौँ-: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन भन्नुभयो ।
नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि स्थापित कम्युनिष्ट पार्टी अहिले विभिन्न रूपमा विभाजित भएकाले विगतका कमजोरीलाई सच्याएर एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।
सो कार्यक्रममार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू विशेश्वर यादव, धनेश्वर यादव, कुलदीप यादवलगायत नेताहरू नेकपा (एस) मा प्रवेश गर्नुभयो ।
विशेश्वर यादव जसपा धनुषा क्षेत्र नम्बर २ (क) का पार्टी इन्चार्ज हुनुहुन्छ भने धनेश्वर यादव धनुषा कमलानगर नगरपालिका–३ का पूर्व वडाध्यक्ष हुनुहुन्छ । अध्यक्ष नेपाल, पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा, सोमप्रसाद पाण्डे, केदार सञ्जलले उहाँहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।