उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकार सधै तयारः मन्त्री भण्डारी — OSNepal

उद्योग, व्यवसायीका समस्या समाधानका लागि सरकार सधै तयारः मन्त्री भण्डारी

LC (KTM) August 16, 2024 0

काठमाडौँ, ३२ साउनः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग, व्यवसायीहरुका समस्या समाधानका लागि सरकार सधै तयार रहेको बताउनुभएको छ । आज नेपाल सिमेन्ट उत्पादन सङ्घको नवनिर्वाचित कार्यकारिणी समितिको पदभार हस्तान्तरण तथा अन्तरक्रियामा मन्त्री भण्डारीले नेपालमा उद्योग व्यवसायीहरुले गरेका लगानीहरु कुनै हालतमा खेर जान नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा ठूला उद्योग व्यवसाय सञ्चालन होउन भन्ने सरकारको उद्देश्य छ, उद्योग क्षेत्रको लगानी खेर जान नदिने सरकारको दायित्व हो, हामी तपाईंको लगानी, पुँजी र इच्छाशक्तिलाई सम्मान गर्दै कुनै पनि हालतमा खेर जान दिने छैनौँ ।”

उद्योगी व्यवसायीहरुले गरेका लगानीमा सरकार सधै सकारात्मक हुने तथा उद्योगमा भएका समस्या र क्षतीका विषयमा सरकार गम्भीर भएर सम्बोधन गर्ने मन्त्री भण्डारीको भनाइ थियो ।“नेपालमा उत्पादन भएका वस्तुभाउहरुले अब बजार पाउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले उद्योगहरुलाई सहुलियत प्रदान गर्ने छ, उद्योगसम्मको पहुँचमार्ग सरकारले बनाउने छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले उद्योग क्षेत्रमा देखिएका समस्याका कारण उद्योग क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विभिन्न कारणले हाम्रा उद्योगहरु धरासायी बन्ने अवस्थामा पुगेका छन्, सरकारले हामीलाई सहयोग नगरे, मुलुकको उद्योग व्यवसाय नै धरासायी बन्ने अवस्था आएको छ ।”

नेपाल सिमेन्ट उत्पादन सङ्घका नवनिर्वाचित अध्यक्ष रघुनन्दन मारुले सरकारले सहयोग गरेको खण्डमा उद्योगहरु थप बिस्तार तथा विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता उत्पादन र रोजगारी हो, सरकारले हामीलाई सहयोग गरोस् हामी लगानी बढाउन तयार छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर