सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित — OSNepal

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित

LC (KTM) August 16, 2024 0

बरहथवा (सर्लाही) – सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल जिल्लामा एक शिक्षक बराबर एक सय १७ जना विद्यार्थी छन् ।

शिक्षक दरबन्दी पर्याप्त नभएका कारण कक्षा ५ सम्मका विद्यार्थीलाई दुई जना मात्रै शिक्षकले पढाउनुपरेको गोडैता नगरपालिका–२ जयपुरमा रहेको जनता आधारभूत विद्यालयका प्रधानाध्यापक गर्बु महतोले गुनासो गर्नुभयो । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार शिक्षकको दरबन्दी न्यूनतम आवश्यकताको पनि आधाभन्दा कम छ ।

जिल्लामा चार सय ४७ वटा सामुदायिक, एक सय ९८ वटा संस्थागत र ७२ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख तारापति खरेलले जानकारी दिनुभयो । शिक्षा समन्वयको तथ्याङ्कअनुसार प्राथमिकदेखि उच्च माध्यामिक तहसम्म एक हजार सात सय १० वटा स्वीकृत शिक्षकको दरबन्दी र छ सय ९३ वटा अनुदान राहत शिक्षक गरी कूल दुई हजार तीन सय ८८ वटा मात्र दरबन्दी कायम छ ।

विद्यार्थी र विद्यालयको अनुपातमा कम्तीमा जिल्लामा दुवै प्रक्रियाबाट न्यूनतम पाँच हजार तीन सय २७ वटा शिक्षक दरबन्दी आवश्यक रहेको कार्यालय प्रमुख खरेलले बताउनुभयो । शिक्षक दरबन्दी अभावका कारण जिल्लामा अधिकांश विद्यालय सङ्कटमा परेका उहाँको भनाइ छ । “आन्तरिक स्रोत जुटाउन सक्ने केही पालिकाले शिक्षक राखेका छन्, उनीहरुको अवस्था राम्रो छ । बाँकीको अवस्था नाजुक छ ।”

शिक्षक पर्याप्त नभएका कारण पठनपाठन प्रभावित भएको हरिपुर्वा नगरपालिकास्थित केशवर गरिब जनता माध्यमिक विद्यालयका छात्र राम विश्वास रायले गुनासो गर्नुभयो । “विद्यालयमा सधँै शिक्षकको अभाव छ । किताब पढ्नै नपाइ परीक्षा दिनुपरिरहेको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा प्राविधिक धारतर्फ भने शिक्षक दरबन्दी न्यूनतम आवश्यकताअनुसार नै रहेको उहाँले बताउनुभयो । पशु विज्ञान, बाली विज्ञान, कम्प्युटर, सिभिल इञ्जिनियरिङ गरेर जिल्लामा नौ वटा प्राविधिक धारतर्फ विद्यालय छन् । त्यसका लागि न्यूनतम आवश्यकताअनुसार ७३ वटा शिक्षक दरबन्दी छन् ।

त्यस्तै सुस्त श्रवणका लागि लक्षित विद्यालय पाँच, बौद्धिक अपाङ्गता भएकाका लक्षित तीन र न्यून दृष्टियुक्तका लागि एक विद्यालय सञ्चालन भइरहेका हुन् । १० वटा माध्यमिक विद्यालयमा नमूना कार्यक्रम सञ्चालन भइरहेको शिक्षा समन्वय कार्यालय मलङ्गवाका प्राविधिक सहायक सुनीलप्रसाद कुशवाहले जानकारी दिनुभयो ।

विसं २०५८ मा कायम भएको स्वीकृत शिक्षक दरबन्दी र विसं २०६७ मा कायम राहत अनुदान शिक्षक दरबन्दीकै भरमा विद्यालयमा पठनपाठन गराउनु परिरहेको बागमती नगरपालिका–२, घरहरामा रहेको जनबाल कल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाको भनाइ छ । त्यसयता विद्यालयको स्तरोन्तति तथा विद्यार्थीको अनुपातमा भएको वृद्धिका कारण थोरै दरबन्दीमा पठनपाठन सकसपूर्ण भएको उहाँले बताउनुभयो ।

तीन वटै सरकार शिक्षा क्षेत्रमा भएको समस्या समाधानम उदासिन देखिएको शिक्षासेवी तथा नागरिक समाजका अगुवा उग्रकान्त मिश्रले टिप्पणी गर्नुभयो । नागरिकबाट बालबालिकाले न्यूनतम मात्रामा शिक्षक नपाउनु विडम्बना भएको उहाँको भनाइ छ ।

जिल्लामा सबै तहका गरी एक लाख ३४ हजार सात सय ९९ छात्रा र एक लाख ४२ हजार पाँच सय ६१ जना छात्र गरी कूल दुई लाख ७७ हजार तीन सय ६० जना छात्रछात्रा अध्यनरत छन् । तराईका जिल्लामा प्रावि तहमा प्रतिशिक्षक ५० जना र मावि तहमा प्रतिशिक्षक अधिकतम ४० जना विद्यार्थी रहने सङ्घीय शिक्षा ऐनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर