काठमाडौँ, ३० साउनः चिकित्सा शिक्षा आयोगले एकीकृत परीक्षाका लागि योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको निर्देशनपछि आयोगले योग्यता नपुगेका विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने भएको हो । आयोगको आज बसेको कार्यकारी समितिको बैठकले योग्यता पुगेका उम्मेदवारलाई प्रवेशपत्र जारीगरी परीक्षामा सामेल गराउने र तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा नगरेका आवदेकको आवेदन फाराम रद्दगरी परीक्षा शुल्क फिर्ता गर्ने निर्णय गरिएको आयोगका उपसचिव मञ्जु अधिकारीले जानकारी दिनुभयो ।
उहाँले शैक्षिक योग्यता नपुगेका आवेदकले फाराम भर्दा बुझाएको परीक्षा दस्तुर रकम आयोगमा दाखिला गरेको प्रमाणसहित फिर्ता माग गरेमा उक्त रकम सम्बन्धित परीक्षार्थीलाई फिर्ता गरिने बताउनुभयो । आयोगले चिकित्सा शिक्षा स्नातक तहको विभिन्न शैक्षिक कार्यक्रमका लागि कक्षा १२ को नतिजा प्रकाशन नभए पनि फाराम भराएको थियो ।
यसअघि फाराम भरेका तर पछि कक्षा १२ को नतिजामा योग्यता नपुगेका परीक्षार्थीको फाराम शुल्क फिर्ता गरिने प्रचलन थिएन तर शिक्षामन्त्री भट्टराईको निर्देशनपछि आयोगले विद्यार्थीको शुल्क फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । आयोगले चिकित्सा शिक्षा स्नातक तहतर्फका विभिन्न विषयमा गत जेठमा आवेदन दिएका उम्मेदवारको यही भदौ १ देखि भदौ ५ गतेसम्म परीक्षा सञ्चालन गर्दैछ ।
–