गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवको भेटवार्ता — OSNepal

गृहमन्त्री लेखकसँग भारतीय विदेश सचिवको भेटवार्ता

LC (KTM) August 12, 2024 0

काठमाडौँ, २८ साउन : गृहमन्त्री रमेश लेखकसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री लेखकले नेपाल र भारतबीच सौहार्दपूर्ण सम्बन्ध रहीआएको उल्लेख गर्दै विदेश सचिव मिस्रीको कार्यकालमा यो सम्बन्ध थप विस्तार र सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

भारत नेपालको सुरक्षा, पूर्वाधार, उर्जा, जलश्रोतलगायतका क्षेत्रमा महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै उहाँले भारतले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धिसहित नेपालको पूर्वाधार निर्माणमा पु¥याएको सहयोगका लागि विदेश सचिव मिस्रीलाई धन्यवाद दिनुभयो । सो अवसरमा गृहमन्त्री लेखकले नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरुका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लेखकले नेपालमा भारत सरकारबाट भएको लगानीको पूर्ण सुरक्षा प्रत्याभूति हुने जनाउँदै सीमाक्षेत्रमा देखिने गरेको अपराध र लागूऔषध अवैध कारोबार नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य बढाउनुपर्ने विषयमा विशेष जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले सीमा व्यवस्थापन, सीमापार हुने अपराध तथा दुवै मुलुकका नागरिकको सुरक्षाका लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने स्पष्ट पार्नुभयो । साथै उहाँले नेपालको सुरक्षा निकाय र अध्यागमन प्रशासनलाई सुदृढ बनाउन भारत सरकारका तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । सचिव मिस्रीले गृहमन्त्री लेखकको कार्यकालको सफलताको शुभकामना दिँदै नेपाल र भारतबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सांस्कृतिकलगायत धेरै समानता रहेको उल्लेख गर्दै उहाँले आगामी दिनहरुमा पनि यो सम्बन्ध अझै प्रगाढ हुने उल्लेख गर्नुभयो ।

भारतीय विदेश सचिव मिस्री परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार यहाँ आइपुग्नुभएको हो । विदेश सचिव मिस्री दुईदिने भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर