पाल्हीनन्दन (नवलपरासी)-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ । केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन् ।
जिल्लाको सुनवल नगरपालिका–१३ मिनी बडेरा निवासी हरि भण्डारीले व्यावसायिक रूपमा गड्यौला पालन गरेर मल उत्पादन सुरू गरेको बताउनुभयो । उहाँले भारतको गोरखपुरबाट गड्यौलाबाट मल उत्पादनसम्बन्धी तालिम सिकेर व्यवसायी रूपमा मल उत्पादन गर्न थालेको बताउनुभयो । परीक्षणका रूपमा ११ वर्षअघि गड्यौला पालन सुरू गरे पनि हाल चार जनालाई रोजगारी दिएर व्यावसायिक मल उत्पादन गर्न थालेको उहाँको भनाइ छ ।
उहाँले रु ५० लाख लागतमा ढाई कठ्ठा जग्गामा अष्ट्रेलियन प्रजातिका गड्यौला पालन गर्नुभएको छ । “अघिल्ला वर्षसम्म गड्यौलाबाट मल उत्पादनसम्बन्धी त्यति ज्ञान नभएर घाटामा गइयो तर हाल धेरै समस्या छैन । बजारीकरणमा कुनै समस्या नभएमा राम्रो आम्दानी हुने आशा जागेको छ”, उहाँले भन्नुभयो ।
उहाँकी श्रीमती कल्पना सुवेदीले सुरूमा गड्यौला पालन गर्ने भन्दा धेरैलाई अनौठो लागे पनि काम गर्दै जाँदा हाल अरूले पनि यो व्यवयासमा चासो दिन थालेका बताउनुभयो । “हाम्रो आम्दानीको स्रोत नै यही हो । सम्पूर्ण श्रम र सम्पत्ति यही व्यवसायमा लगाएका छौँ । विस्तारै राम्रो प्रतिफल दिने आशा जागेको छ”, उहाँले भन्नुभयो ।
यसैबीच आज नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द, पूर्वराज्य मन्त्री घनश्याम यादवलगायत स्थानीयले उहाँको गड्यौला फार्म निरीक्षण गर्नुुभएको छ । यस कार्यले आफूलाई थप उत्साह मिलेको भण्डारी दम्पतीको भनाइ छ ।
बर्दघाट पश्चिम–नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले यस जिल्लामा दुुई जनाले व्यावसायिक रूपमा गड्यौलाबाट मल उत्पादन गरिरहेका र अन्यले पनि व्यावसाय सञ्चालनका लागि योजना बनाइरहेका बताउनुभयो ।