चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँ - सुरक्षा पन्त — OSNepal

चलचित्रका कारण कर्णालीको सौन्दर्यता महसुस गर्न पाएँ – सुरक्षा पन्त

LC (KTM) August 05, 2024 0

काठमाडौँ – अभिनेत्री सुरक्षा पन्तले कर्णाली प्राकृतिक सुन्दरतासँगै विविध संस्कृतिले भरिपूर्ण भएको आफूले पाएको बताउनुभएको छ । आफू अभिनित चलचित्र ‘बुलाकी’ को प्रचारप्रसारका लागि आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णालीमा छायाङ्कनका लागि बिताएको समय र आफ्नो पात्रको विषयबारे चर्चा गर्नुभयो ।

“यस चलचित्रमा मैले कर्णालीको हिरा नामक पात्रको भूमिका निर्वाह गरेकी छु । चलचित्रमा निसन्तान हुँदा महिलाले भोग्नुपर्ने सास्ती र जारी प्रथाको विषय जोडिएको छ”, अभिनेत्री पन्तले भन्नुभयो ।

आफ्नो पात्रलाई जीवन्त बनाउने अभिनेत्री पन्तले हिरा नामक पात्रको तयारी कर्णालीमै पुगेर गर्नुभएको थियो । स्थानीय भाषा, लवजसँगै भेषभूषा र मनोविज्ञान बुझ्न आफू स्थानीयसँग घुलमिल भएको उहाँले सुनाउनुभयो । मनाङमा एक इटालियन चलचित्रको छायाङ्कन सकाएको एकसातापछि उहाँ कर्णाली पुगेको बताउनुभयो ।

“पात्रका लागि जति तयारी गरे पनि स्थानीयमा नपुगी पूर्ण पाउँदैन । त्यसैले म एक हप्ता विश्राम गरेर स्थानीयसँग भेट्न पुगे । त्यहाँको जीवन र छुट्टै छ । त्यहाँका मान्छे मैले खुसी भएको पाएको छु”, उहाँले भन्नुभयो ।

कर्णाली पिछडिएको क्षेत्र भनेर आफूले सुने पनि त्यहाँ पुगेपछि भने उक्त सोच परिवर्तन भएको अभिनेत्री पन्तले बताउनुभयो । “मैले छायाङ्कनको समयमा जारी प्रथाबारे जिज्ञासा राखेकी थिएँ । छिटपुट हुने गरेको घटनाबारे स्थानीयले सुनाउनुभएको थियो । त्यहाँ बस्दा मैले बुझेको कर्णालीका महिला सक्षम छन् र अभिभावकत्व लिन तयार छन् भन्ने हो”, अभिनेत्री पन्तले भन्नुभयो ।

चलचित्रमा अभिनेत्री पन्तसँगै नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर