प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो — OSNepal

प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो

LC (KTM) August 02, 2024 0

चितवन, साउन १८-बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा विस्तार गरेपछि बिरामी घुइँचो बढ्न थालेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा अस्पतालबाट दुई लाख ५४ हजार आठ सय ३० जना बिरामीले सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या दुई लाख चार हजार पाँच सय छ र आव २०७८/७९ मा एक लाख ५२ हजार पाँच सय २७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको सङ्ख्या थपिँदै गएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा गत आवमा बहिरङ्ग विभागबाट दुई लाख ४६ हजार सात सय २३, आव २०७९/८० मा दुई लाख तीन हजार एक सय १० आव २०७८/७९ मा एक लाख ४२ हजार आठ सय आठ र आव २०७७/७८ मा ८५ हजार पाँच सय ५२ जनाले सेवा लिएका ज्ञवालीले बताउनुभयो । अस्पतालमा आकस्मिक सेवा लिनको सङ्ख्या पनि बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीका अनुसार गत आवमा १८ हजार एक सय सात जनाले आकस्मिक सेवा लिएका छन् । आव २०७९/८० मा १३ हजार ९७, आव २०७८/७९ मा नौ हजार सात सय १९ र आव २०७७/७८ मा पाँच हजार चार सय १४ ले आकस्मिक सेवा लिएका उहाँले जानकारी दिनुभयो ।

प्रयोगशाला र रेडियोलोजी सेवा लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले प्रयोगशाला र रेडियोलोजी सेवा लिएका छन् । यो सेवा लिनेको सङ्ख्या आव २०७९/८० मा ९८ हजार चार सय २४, आव २०७८/७९ मा ४४ हजार सात सय ८४ र २०७७/७८ मा ३३ हजार एक सय १२ थियो ।

अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको सङ्ख्या गत आवमा तीन हजार नौ सय ८०, आव २०७९/८० मा तीन हजार आठ सय ५९ र आव २०७८/७९ मा दुई हजार तीन सय १४ थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीले अहिले पनि पर्याप्त स्थान नभएकाले भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भइरहेको बताउनुभयो । पछिल्ला वर्षमा भर्ना भई उपचार गराउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको बताउँदै सेवालाई थप प्रभावकारी बनाउन सङ्घीय र प्रदेश सरकारले नीतिगत तहबाटै सुधारका योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अस्पताललाई गत आर्थिक वर्षदेखि सरकारले एक सय शय्याको स्वीकृत प्रदान गरेको बताउँदै ज्ञवालीले अहिले ९० शय्या सञ्चालन भएरहेको जानकारी दिनुभयो । पाँच शय्याको सघन उपचार कक्ष र आठ शय्याको बालसघन उपचार कक्षका लागि छुट्याइएको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालमा विशेषज्ञ चिकित्सक २५, दन्त चिकित्सक चार, मेडिकल अधिकृत १७ सहित दुई सय ४० जना जनशक्तिले सेवा दिइरहेका डा ज्ञवालीले जानकारी दिनुभयो । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिँदै आइएको बताउँदै पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मिर्गौलाको डायलासिस उपकरण अभावमा बिरामीले धेरै समय कुर्नु परिरहेकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

पछिल्ला दिनमा बिरामीको सङ्ख्या वृद्धि भएसँगै शय्या, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढीकरण गर्ने तयारी गरिरहेको डा ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मातृ शिशु भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्यगरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

विशेषगरी छालासम्बन्धी समस्या भएका बिरामी बढी आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ज्ञवालीले जानकारी दिनुभयो । यहाँबाट मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसूति तथा स्त्री, दन्त चिकित्सालगायत सेवा प्रदान हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर