काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनुभएको छ ।प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताउनुभयो ।
शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी सांसदहरुले उठाएको विषयमा बोल्दै उहाँले भौतिक संरचना निर्माण लगायत समग्र विषयमा आर्थिक स्रोत जोडिएको बताउनुभयो । “सीमित स्रोतसाधन र सीमित आर्थिक व्यवस्थामा अली बढी काम गर्नुपरिरहेको छ”, मन्त्री लेखकले भन्नुभयो, “कारागार र बाल सुधार गृहको भौतिक अवस्था अपर्याप्त, जीर्ण र दयनीय छ ।”
मन्त्री लेखकले बाल सुधार गृहमा बसेका बालबालिकाको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी देशमा शान्ति सुरक्षा, अमनचैन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानुन संशोधन परिमार्जन र नयाँ निर्माणमा आफू लागि परेको बताउनुभयो ।
मनसुनजन्य विपद्बाट ७७ वटै जिल्ला प्रभावित रहेको जानकारी दिँदै मन्त्री लेखकले प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीको विकास, घटनापछि उद्धार र राहतका लागि सरकार लागिपरेको बताउनुभयो ।
चितवनको सिमलताल बस दुर्घटनाका विषयमा खोजी कार्यमा सक्दो प्रयास जारी रहेको उल्लेख गर्दै मन्त्री लेखकले सो कार्यमा सबै सुरक्षा निकाय खटिएको बताउनुभयो । “सिमलताल घटनामा जति परिणाम प्राप्त गर्नुपर्ने हो त्यो गर्न सकेनौँ”, उहाँले भन्नुभयो, “भारतबाट पनि प्राविधिकसहितको टोली आएर खोजी कार्यमा जुट्दा पनि बस र सबै शव फेला पार्न सकिएन ।”
बैठकमा गृहसचिव एकनारायण अर्यालले मुलुकको समग्र शान्ति सुरक्षा, कारागार र बाल सुधार गृहको अवस्था, मनसुनजन्य विपद्का घटनामा भएको जनधनको क्षति लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।