काठमाडौँ । धार्मिक कथावाचनमा लोकप्रियता कमाइरहेकी अन्तर्राष्ट्रिय कथावाचिका प्रतिभा पराजुली, देवी प्रतिभाका बडीगार्डहरुलाई कोटिहोम महायज्ञमा सम्मान गरिएको छ । पशुपतिनाथमा जारी कोटिहोम महायज्ञमा देवी प्रतिभा जीका ९ जना बडीगार्डलाई बालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले दुबोको मालाले सम्मान गरेका हुन् ।
भारत सरकार र देवी प्रतिभाको फाउण्डेसनले उहाँको सुरक्षाका लागि भन्दै दिएका बडीगार्डले कार्यक्रममा रहँदा मर्यादित र अनुशाशित भूमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको आयोजक मानव सेवा फाउण्डेसनले जनाएको छ । आयोजकका अनुसार अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथावाचन गर्ने भएकी छन् । शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्न लागेकी हुन् । उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । शनिबारदेखि बिहानीसत्रमा रामकथा प्रवचन गरिरहेकी देवी प्रतिभाले भोलीसम्म महायज्ञमा कथा प्रवचन गर्नेछिन् ।
त्यस्तै देवी प्रतिभाले भोली भत्तजनहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । यसैबिच देवी प्रतिभालाई गृह जिल्ला काभ्रेमा अभिनन्दन तथा सम्मान गरिएको छ । आध्यात्म क्षेत्रमार्फत काभ्रे र देशकै नाम उच्च राखेको भन्दै काभ्रे सेवा समाज र पनौती नगरपालिकाले शनिवार पनौतीमा एक कार्यक्रम गरेर सम्मान गरेको काभ्रे सेवा समाजका अध्यक्ष प्रल्हाद केसीले जानकारी दिए । पशुपति क्षेत्र, वनकाली काठमाडौँमा जारी पशुपति कोटीहोम तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञमा कथावाचनको लागि नेपाल आएको बखत उनलाई सम्मान गरिएको हो । देवी प्रतिभाले पनौतीको त्रिवेणीधाम, इन्द्रेश्वर मन्दिर, मुक्तिनाथ मन्दिर पुगेर दर्शन गरेकी थिइन् । नगर प्रमुख रामशरण भण्डारीले धार्मिक स्थल पनौतीमा सत्ययुग, द्वापरयुग र रामायणकालीन इतिहास रहेको भन्दै पवित्र स्थलको नामको भारतमा गलत व्याख्या भएको भन्दै त्यो भ्रम चिरिदिन र पनौतीको महिमाबारे प्रचार प्रसार गरिदिन अनुरोध गरे । सम्मानपछि देवी प्रतिभाले आफ्नो गृहजिल्लामा अपनत्व प्राप्त गरेको अनुभव सुनाइन् । उनले भनिन्,”देश विदेशमा पनौतीको महिमाबारे जानकारी गराउॅछु । नेपाल हिन्दू राष्ट्र थियो, छ र रहनेछ”, उनले भनिन् ।
मण्डनदेउपुर नगरपालिका वडा नम्बर १०, ज्वानेटारमा जन्मिएकी प्रतिभा भारतलाई कर्मथलो बनाएर धार्मिक कथावाचन गरिरहेकी छन् । प्रारम्भिक शिक्षासमेत नेपालमै हासिल गरेकी प्रतिभा अध्ययनको लागि वृन्दावन पुगेकी थिइन् । उनले संस्कृतमा आचार्य तह पूरा गरेकी छिन् । कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो।
ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन ९दुःख निवारण० शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँगसँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको फाउण्डेशनले जनाएको छ ।