‘पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ’ : महेश आचार्य — OSNepal

‘पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन आवश्यक छ’ : महेश आचार्य

LC (KTM) July 28, 2024 0

चितवन- नेपाली कांग्रेसका नेता महेश आचार्यले कांग्रेसभित्र गुट–उपगुट हाबी हुँदा पार्टी अहिलेको अवस्थामा आएको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज चितवनले शनिबार यहाँ आयोजना गरेको २५औँ साधारणसभा तथा वैचारिक कार्यक्रममा उहाँले पार्टीलाई बलियो बनाउन वैचारिक शक्ति एक हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रजातान्त्रिक विचार समाजले कांग्रेसलाई सुधार गर्न लाग्नुपर्छ ।” अहिले कांग्रेस–कम्युनिष्टहरूसँग नजिकिँदा यो अवस्था आएको भन्दै उहाँले अब कांग्रेसलाई सुधारको बाटोेमा लैजान आवश्यक रहेको बताउनुभयो । आम जनताको गुनासो सुन्दै कांग्रेस सुधार गर्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

कांग्रेसका केन्द्रीय सदस्य डा गोविन्दप्रसाद पोख्रेलले अहिलेको बजेट र यसले समाजमा पार्ने प्रभावका बारेमा धारणा राख्नुभएको थियो । अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले कांग्रेसभित्रको असहमति आपसी छलफलबाट टुङ्ग्याएर अघि बढ्नसके मात्रै राम्रो हुने बताउनुभयो । सहमति र छलफलका लागि मध्यस्थकर्ताको भूमिकामा विचार समाजले काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले समाज पार्टीको भ्रातृ संस्था नभएको भन्दै पार्टीभित्रको समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा प्रकट गर्ने र मध्यस्थर्ताका भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सो अवसरमा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले वर्तमान राजनीतिक अवस्थाका सकारात्मक र सुधारात्मक पक्षका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । समाजका जिल्ला अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता डा शोभाखर पराजुली, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाललगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर