माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल — OSNepal

माओवादी केन्द्रको बैठक : समसामयिक विषयमा छलफल

LC (KTM) July 27, 2024 0

काठमाडौँ, १२ साउनः सरकारबाट बाहिरिएपछिको अवस्थाका बारेमा छलफल गर्न र आगामी कार्यक्रम निर्धारण गर्ने लक्ष्यका साथ प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारीको बैठक आज पनि बस्यो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारबाट बाहिरिएको अवस्था र पार्टीको नयाँ कार्यक्रम तय गर्ने विषयमा छलफल भएको थियो ।

सो पार्टीको पदाधिकारीको बैठकमा १६ देखि २५ वर्षको जनसङ्ख्या झण्डै ६१ लाखलाई जनयुद्ध, गणतन्त्रलगायत परिवर्तनका विषयलाई केन्द्रका राखेर सङ्गठन निर्माण र जनपरिचालन गर्ने विषयमा छलफल भएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाका अनुसार आजको बैठकमा उपाध्यक्ष पम्फा भुसाल र उपमहासचिव शक्ति बस्नेतले आफ्नो धारणा राख्नुभएको थियो ।

उहाँहरूले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी निर्माण, सङ्गठन र जनपरिचालनलगायतका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । विज्ञान, प्रविधिको विकास र पछिल्लो पुस्तालाई समेत केन्द्रका राखेर सङ्गठन निर्माण, पार्टीका कार्यक्रम तय गर्नुपर्नेमा बैठकमा नेताहरूले जोड दिनुभएको थियो ।

पदाधिकारीको बैठकपछि पार्टीको स्थायी समिति बैठक बस्ने र लगत्तै केन्द्रीय समितिको बैठकसमेत तय गरेर आगामी दिनको कार्यक्रम तय गर्ने प्रवक्ता सापकोटाको भनाइ छ ।

माओवादी केन्द्रको शुक्रबारदेखि पदाधिकारीको बैठक सुरु भएको हो । शुक्रबार पदाधिकारीमा रहनुभएका छजना नेताले आफ्नो धारणा राख्नुभएको थियो । बैठक आइतबार पुनः बस्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर