योजना सञ्चालनमा ढिलाइ नगर्न मधेसका मुख्यमन्त्रीको निर्देशन — OSNepal

योजना सञ्चालनमा ढिलाइ नगर्न मधेसका मुख्यमन्त्रीको निर्देशन

LC (KTM) July 27, 2024 0

महेन्द्रनगर (धनुषा), १२ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार सञ्चालन भइरहँदा विगतमा भएका त्रुटि तथा कमीकमजोरीबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।मधेस शिक्षा तथा संस्कृति मन्त्रालयले आज आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री सिंहले चालु आवमा समयमै अख्तियारी पठाइएकाले योजना सञ्चालनमा ढिलाइ नगर्न मन्त्रालयका सचिवसहितका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, “तपाईँहरू काम गर्नुहोस्, कामका लागि वातावरण बनाउने जिम्मा मेरो छ ।” तर, काममा ढिलासुस्ती सह्य नहुने प्रस्ट्याउँदै मुख्यमन्त्री सिंहले मधेस प्रदेशलाई विकासको मार्गमा अघि बढाउने जिम्मेवारी कर्मचारीमा रहेकाले दत्तचित्त भएर नतिजामुखी कार्य गर्नुपर्ने बताउनुभयो ।

शिक्षा तथा संस्कृति मन्त्रालयले गत आवमा ५१ प्रतिशत बजेट खर्च गरेको छ । कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारीले कर्मचारी र मन्त्रीबीचको सम्बन्ध सुमधुर नभएसम्म कार्यप्रगति उत्साहजनक हुन नसक्ने बताउनुभयो । प्रदेशमा विकास कार्यलाई गति दिन मन्त्री तथा कर्मचारीबीच समन्वय गरेर बढ्नुको विकल्प नरहेको मन्त्री तिवारीले बताउनुभयो ।

शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा भएको वार्षिक प्रगति समीक्षा गोष्ठीमा मन्त्री तिवारीले सुख सुविधाभन्दा आफूले कामलाई प्राथमिकता दिएकाले जिम्मेवारी बुझेर कार्य सम्पादनमा लाग्न निर्देशन दिनुभयो ।

“तपाईँहरू कार्य अगाडि बढाउनुस्”, उहाँले भन्नुभयो, “बाधा अवरोध फुकाउने जिम्मा मेरो छ ।” काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै मन्त्री तिवारीले आफू सुखसुविधाका लागि नभएर काम गर्न आएकाले कामप्रतिको बेवास्ता नगर्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर