बिरामीको मृत्युपछि धनगढीको नोभा अस्पतालमा तोडफोड, तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार — OSNepal

बिरामीको मृत्युपछि धनगढीको नोभा अस्पतालमा तोडफोड, तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

LC (KTM) July 27, 2024 0

सुदूरपश्चिम, १२ साउनः उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको नोभा अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आज चार सेल अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गङ्गादत्त बडूले अस्पतालमा तोडफोड हुन थालेपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीका तर्फबाट चार सेल अश्रुग्यास प्रहार गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्थिति सामान्य अवस्थातिर गइरहेको छ, अस्पताल प्रशासन र मृतक पक्षका बीच समस्या समाधानका लागि छलफल चलिरहेको छ ।” सशस्त्र प्रहरी बलले पनि केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको तोडफोडबाट अस्पतालमा क्षति पुगेको छ । कमलपित्त (जन्डिस)भएको भनेर उपचारका लागि अस्पताल पुगेका कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–२ का १७ वर्षीय युवक नसिभ चौधरीको हिजो मृत्यु भएको थियो । आफन्तले उपचारमा गरिएको लापरबाहीका कारण चौधरीको मृत्यु आरोप लगाएका छन् । तनावपूर्ण अवस्थालाई थप बिग्रिन नदिन धनगढीको मुख्य सडकसँगै जोडिएको उक्त अस्पताल आसापसमा आज दिनभरि नै ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाने मृतकका आफन्तले बताएका छन् । निजी क्षेत्रबाट सञ्चालनमा रहेको नोभा अस्पतालका पदमराज भट्टले भने उपचारमा लापरबाही नभएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर