पहिराले क्षतिग्रस्त पुरनडिही अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण — OSNepal

पहिराले क्षतिग्रस्त पुरनडिही अस्पतालको सेवा सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

LC (KTM) July 27, 2024 0

दमौली (तनहुँ), ११ साउनः तनहुँको भानु नगरपालिका–५ शेपाबैँचास्थित पुरनडिही अस्पताल भवनमा पहिराले क्षति पुगेपछि सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराइएको छ ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले शुक्रबार मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो ।

गत असार २८ गतेको पहिराले अस्पताल भवनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ । पहिराले अस्पताल भवनको प्रयोगशाला र प्रसूति कक्षमा क्षति पुगेका कारण अति आवश्यक आधारभूत सेवामात्र प्रवाह भइरहेको नगरप्रमुख त्रिपाठीले बताउनुभयो । यहाँ एक पालिका एक आधारभूत अस्पताल निर्माण तथा सञ्चालनअन्तर्गत आधारभूत अस्पताल भवन अन्तिम चरणमा रहेको छ भने हाल पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ ।

नगरप्रमुख त्रिपाठीकानुसार अस्पतालमा थप शय्या, २० रक्तचाप परीक्षण उपकरण, पाँच ओटोस्कोप, पाँच प्रसूति सेट, चार नेबुलाइजरलगायत सामग्री आवश्यक भएकाले मन्त्री पौडेललाई ध्यानाकर्षण गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर