आफू निर्देशित पहिलो चलचित्र ‘वसन्त’बारे यसो भन्छन् सपूत — OSNepal

आफू निर्देशित पहिलो चलचित्र ‘वसन्त’बारे यसो भन्छन् सपूत

LC (KTM) July 26, 2024 0

गण्डकी – गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला चलचित्र ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त हुनुहुन्छ । निर्देशकका रुपमा उहाँले गत वैशाखमा आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभएको थियो । उक्त चलचित्रको शीर्षक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । आगामी भदौ तेस्रो सातादेखि चलचित्रको छायाँकन सुरु हुने उहाँले जानकारी दिनुभयो ।

“अहिले छायांकन पूर्वको तयारी भइरहेको छ, कलाकार छनोटदेखि स्क्रिप्ट, छायाँङ्कनस्थल टुङ्गोमा पु¥याउनेलगायत प्रि–प्रडक्सनको काम भइरहेको छ”, सपूतले भन्नुभयो, “चलचित्रको अधिकांश छायाँङ्कन बागलुङ बजार र आसपासको गाउँमा गर्ने तयारी भइरहेको छ, काठमाडौँ र तराईमा पनि केही भाग छायाँङ्कन हुनेछ ।” चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ ।

उहाँले आफ्नो फेसबुकमा केही दिनअघि लेख्नुभएको थियो, “चलचित्र ‘वसन्त’ गीतहरुबाट बन्ने छ र गीतहरु जीवन जस्तै हुनेछन् । छिनछिनमै बदलिरहने तर हामीसँगै हुने हाम्रो हाँसो र आँशु जस्तै । हावा र पानी जस्तै । जन्मिएर भर्खर हास्न थालेको आफ्नो सन्तान जस्तै । हेरिरहूँ लाग्ने । ‘वसन्त’ कथाले भन्दा बढी विचार, भावना र संवेदनाहरुले बन्नेछ । आशा छ तपाईंलाई आफ्नै लाग्नेछ ।”

गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लाग्नुभएको हो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफँै मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उहाँको भनाइ छ । चलचित्र निर्देशनलाई उहाँले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याउनुभयो ।

गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपूतलाई दर्शकले रुचाएका छन् । “अभिनेताका रुपमा ‘परदेशी २’ लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपूतले भन्नुभयो, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।”

चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उहाँले सुनाउनुभयो । “चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ ।

सपूतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताउनुभयो । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपूतले बताउनुभयो । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको सपूतले बताउनुभयो ।

चलचित्रको दोस्रो मुख्य पात्र ‘शान्ति’ का रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनुहुने छ । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पार्नुभएको छ । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’ लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ ।

विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । मौलिक गीत ‘गलबन्दी’ बाट चर्चाको उचाइमा पुग्नुभएका उहाँका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर