महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि — OSNepal

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि

LC (KTM) July 22, 2024 0

बैतडी, ७ साउन : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने निर्यात शून्य देखिएको छ ।

यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ । केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिनुभयो । उहाँका अनुसार आयातबाट लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयले गत आवमा रु ५१ लाखको लक्ष्य राखेकामा रु ८६ लाख ८४ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख झाले बताउनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० बढी राजस्व सङ्कलन भएको हो । भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

विगतका वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने अवस्था थियो । आव २०७९/८० मा रु ३८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३५ लाख ३८ हजार मात्रै सङ्कलन भएको थियो ।

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार प्रमुख प्रमुख झाले बताउनुभयो । यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन् । झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौँबाट ल्याउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर