बाढीले आम्दानीको स्रोत गुमेपछि कुतियाकबरका किसान चिन्तित — OSNepal

बाढीले आम्दानीको स्रोत गुमेपछि कुतियाकबरका किसान चिन्तित

LC (KTM) July 22, 2024 0

वेदकोट (कञ्चनपुर) – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरका बमबहादुर सुनारले १२ कट्टा जमिनमा परबल खेती गर्नुभएको थियो । त्यही खेतीबाट उहाँले वर्षभरीको खर्च जोहो गर्नुहुन्थ्यो ।

असार तेस्रो साता अविरल वर्षापछि आएको बाढीले उहाँको परबल खेती बगरमा परिणत भएको छ । खेती मात्रै होइन बाढीले घरभित्रको अन्नपात, लुगाफाटोसमेत बगाएपछि उहाँ समस्यामा हुनुहुन्छ । “खेतमा लगाइएको परबल पुरिएर नष्ट भएको छ । वर्षभरीको घर खर्च धान्ने खेती नै सखाप भएपछि अब के खाने, कसरी खर्च चलाउने भन्ने चिन्ता बढेको छ”, उहाँले दुःखेसो पोख्नुभयो ।

बाढीको बेला केही दिन अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बस्नुभएका उहाँ अहिले बस्तीमै फर्किसक्नुभएको छ । बाढीले क्षति पु¥याएको घरको मर्मत गरेर रात बिताइरहेको उहाँको भनाइ छ ।

दोधारा चाँदनी नगरपालिका–१० का खड्के बुढाले डेढ बिघा जमिन भाडामा लिएर तरकारीसँगै धान रोपाइँ गर्नुभएको थियो । बाढीले उहाँको खेत पनि पूरै लेदो र बालुवाले भरिएको छ । “तरकारी र धानमा रु ५० हजार खर्च भएको थियो । तरकारी खेती नै प्रमुख आयस्रोत हो”, उहाँले भन्नुभयो, “खेतमा सबै पुरिएर माटो र बालुवा मात्रै छ । तीन वर्षअघि पनि यस्तै भएको थियो । बाढीले आयस्रोत नै खोस्यो”, उहाँले गुनासो गर्नुभयो ।

महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुतियाकबरमा बसोबास गर्ने अधिकांशको जमिन बगरमा परिणत भएको छ । यहाँका अधिकांश स्थानीय बासिन्दा परबललगायत तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । वर्षभरीलाई खान पुग्ने धान र घर खर्च जोहो गर्ने तरकारी खेती बगर बन्दा अहिले यहाँका किसान निकै पीडामा छन् । “बाढीले सबै लग्यो । बिहान बेलुका खानलाई घरभित्र अन्न छैन । खाना पकाउन भाडाकुडा, लगाउनलाई लत्ताकपडा पनि छैनन्”, दोधारा चाँदनी नगरपालिका–१० की बृतकली सुनार भन्नुहुन्छ, “बाढीले यत्रो पीडा दिँदा पनि सरकारले हामीलाई हेरेको छैन । हामी के खाएर बाच्ने ?”

असार तेस्रो साताको अविरल वर्षापछि भएको डुबान र बाढीले विस्थापित भएकाहरू विद्यालय तथा आफन्त कहाँ आश्रय लिएर बसेको थिए । अधिकांश विस्थापित बस्तीमै फर्किए पनि खाद्यलगायत अत्यावश्यक समानमा बाढीले क्षति पु¥याएपछि खान र बस्न समस्या भएको छ । बाढी र डुबानले बस्ती अस्तव्यस्त बनेकाले स्थानीय बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर