ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो — OSNepal

ललितपुर महानगरले पुरानो डेनिस दमकल मर्मतपछि सञ्चालनमा ल्यायो

LC (KTM) July 21, 2024 0

पाटन (ललितपुर), ६ साउन : ललितपुर महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल (जुद्ध बारुण यन्त्र) आजबाट सञ्चालनमा ल्याइएको छ । महानगर क्षेत्रमा हुनसक्ने आगलागीको सम्भावित जोखिममा परिचालन गर्नका लागि महानगरपालिकाले एक सय छ वर्ष पुरानो डेनिस दमकल मर्मत गरेर सञ्चालनमा ल्याएको हो ।

ललितपुरका मेयर चिरीबाबु महर्जनले विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले थन्काएर राखेको अवस्था रहेकोमा अहिले अमेरिकाबाट पार्टहरु मगाएर मर्मत गरी सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

“विगत ४२ वर्षदेखि यसको पार्टस नपाएको कारणले दमकल चलेको थिएन । थन्क्याएर राखेको थियो । ७३–७४ सालमा दमकल लिलामीमा राखियो । त्यो सूचना पाउने साथ झिक्यौँ । अमेरिकामा यसको पार्टस भेटियो र अहिले सञ्चालमा ल्याइएको छ”, प्रमुख महर्जनले भन्नुभयो । पुरानो ऐतिहासिक दमकलको चक्काहरु कहिले पनि पञ्चड नहुने र सिसाहरु पनि नफुट्ने प्रमुख विशेषता रहेको उहाँले जानकारी गराउनुभयो ।

डेनिस फायर इन्जिनलाई दक्ष मेकानिक्स मध्येका एक मोहनप्रसाद नकर्मीले सफलतापूर्वक मर्मत गर्नुभएको हो। उहाँले यसलाई १० महिना लगाए मर्मत गर्नुभएको जानकारी गराइएको छ । ललितपुर महानगरपालिकाका १०६ बर्ष पुरानो दमकललाई मर्मतपछि सञ्चालनमा आएको दमकललाई तीन सय लिटर पानी भरेर आजबाट उपत्यकाको तीनवटै जिल्लाका सहर घुमाइएको महानगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी गराउनुभयो ।

यो दमकल बेलायतले उपहार दिएकामध्येकै हो । त्यतिबेला बेलायतले तीन वटा दमकल नेपाललाई दिएको थियो । डेनिस कम्पनीको सो दमकल अब नियमित प्रयोगमा आउने छ । योसँगै महानगरमा दमकलको सङ्ख्या सात पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर