‘दाहाल यज्ञनिधि’ पुरस्कार यो वर्ष इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने — OSNepal

‘दाहाल यज्ञनिधि’ पुरस्कार यो वर्ष इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने

admin July 21, 2024 0

काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको ‘दाहाल यज्ञनिधि’ पुरस्कार यो वर्ष इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । दाहाल यज्ञनिधि सुधा सदनको शनिबार बसेको बैठकले इतिहासकार ज्ञानमणि नेपाललाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष सुधा दाहालले जानकारी दिनुभयो । एक लाख ५० हजार राशिको उक्त पुरस्कार दाहाल यज्ञनिधिको छैटौँ स्मृति दिवसको अवसरमा साउन २५ गते राष्ट्रिय नाच घर, जमलमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिनेछ ।

यो पुरस्कारबाट यसअघि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र साहित्यकार निनु चापागाईं पुरस्कृत भइसक्नु भएको र यो वर्ष ज्ञानमणि नेपाललाई दिन लागिएको संस्थाका उपाध्यक्ष साहित्यकार डा. रमेश शुभेच्छुले जानकारी दिनुभयो । त्यसैगरी दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कारबाट भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल)का दुई जना छात्रछात्रा पुरस्कृत हुनुहुनेछ । २०८० सालमा कक्षा ८ बाट उर्तिण हुँदा नेपाली विषयमा सबैभन्दा बढी जिपिए ल्याउनुभएका छात्र दिनेश कार्की र छात्रा आस्ना पाण्डे पुरस्कृत हुन लाग्नुभएको हो । छात्रछात्रा द्वयलाई जनही १० हजार रुपियाँ र सम्मान पत्र प्रदान गरिनेछ । २० हजार राशिको यो पुरस्कार छात्र र छात्रालाई संयुक्त रुपमा प्रदान हुँदै आएको छ । दाहाल यज्ञनिधिले लामो समय अध्यापन गर्नुभएको दरबार स्कुलमा उहाँको नाममा बाल प्रतिभा पुरस्कार स्थापना भएको हो ।

दाहाल यज्ञनिधिको नाममा स्थापित ‘दाहाल यज्ञनिधि सुधा सदन’ संस्थामा ५१ लाख रूपैयाँको अक्षयकोश राखिएको छ । अक्षयकोशबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई पुरस्कार र बालप्रतिभाका रुपमा दुई प्रतिभालाई सम्मान गरिँदै आएको छ । वि.सं. २०१० साल साउन ८ गते खोटाङमा जन्मिनुभएका नेपाली साहित्य र पत्रकारिता क्षेत्रका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको २०७५ साउन २५ गते निधन भएको थियो । उहाँका .‘जदौका निबन्ध’ (२०६९), जदौका ३४ निबन्ध (२०७६), खुला आकाश, गीति एल्बम (२०७६), दाहाल यज्ञनिधिका कविता (२०७८) जस्ता कृति प्रकाशित छन् । दाहालको जीवनी व्यक्तित्व र कृतित्व केन्द्रित जदौ (२०६९) कृति पनि प्रकाशित छ । दाहाल सञ्चारकर्मीसँगै कवि र निबन्धकारका रुपमा परिचित हुनुहुन्छ । दाहालले नेपाली साहित्यिक पत्रकारिताका छापा र प्रशारण माध्यममा पुर्याउनुभएको योगदान उल्लेख्य रहेकाले उहाँको जीवनी व्यक्तित्व र कृतित्व उजागर गर्ने उद्देश्यले परिवार र शुभचिन्तक मिलेर संस्थाको स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर