पहिरामा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग — OSNepal

पहिरामा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग

LC (KTM) July 21, 2024 0

गण्डकी – युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा महानगरपालिका–३२ चैनपुर, पोखरा–२७ अर्चले र पोखरा–१९ पुरनचौरमा पहिरामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

आर्थिक सहयोगअन्तर्गत पोखरा–३२ चैनपुरका स्व आरती ओझाको परिवारलाई रु १० हजार, पोखरा–२७ अर्चलेका स्वर्गीय अनमोल सुनार र भीम थापाको परिवारलाई रु १०–१० हजार तथा पोखरा–१९ पुरनचौरका पहिरोबाट सातजना परिवार गुमाएका पवन परियारलाई रु २५ हजार नगद प्रदान गरेको क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुुभयो ।

क्लबले स्थापनाकालदेखि तिहारका अवसरमा आयोजना गर्ने देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरी त्यसैमार्फत विपद्मा परेकाहरूलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले असारमा अविरल वर्षाका कारण पहिरामा परी ज्यान गुमाएका परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गरिएको जानकारी दिनुुभयो ।

क्लबका महासचिव दिनेश सुनारले संस्थाको विपद् व्यवस्थापन कोषबाट पश्चिम कैलालीदेखि पूर्वमा उदयपुरसम्म विपद्मा परेकालाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, सल्लाहकार रमेश कार्कीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर