सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु : उर्जामन्त्री खड्का — OSNepal

सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु : उर्जामन्त्री खड्का

LC (KTM) July 20, 2024 0

काठमाडौँ, ५ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको विकासका लागि ऊर्जा क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ ।
सङ्खुवासभा-काठमाडौँ पत्रकार सङ्घ (एसकाज)ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा सङ्खुवासभाबाट निर्वाचित मन्त्री खड्काले आज स्रोत र साधनले धनी सङ्खुवासभाको आर्थिक विकासमा ऊर्जा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्नो मुख्यप्राथमिकतामा सङ्खुवासभाको विकास रहेको समेत बताउनुभयो ।

उहाँले अपर अरुण जलविद्युत आयोजनामार्फत उक्त क्षेत्रका जनताको आर्थिक उन्नति गर्न सकिने समेत उल्लेख गर्नुभयो । “सङ्खुवासभाबासीको शिर निहुरिन नदिने गरी काम गर्नुछु, म धेरै आशा बाँड्दिन सङ्खुवासभाको विज्ञतालाई प्रयोग गरी परिणाम दिने गरी काम गर्नेछु”, उहाँले भन्नुभयो ।

नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालले आफ्नो विज्ञता प्रयोग गरी ऊर्जा क्षेत्रको विकासमा ध्यान दिन मन्त्री खड्कालाई आग्रह गर्नुभयो । उहाँले सङ्खुवासभाको छविलाई उच्च राख्न मन्त्री खड्कालाई शुभकामना समेत दिनुभयो ।

सङ्खुवासभा-काठमाडौँ जर्नालिष्ट एसोसिएसनका अध्यक्ष शङ्कर खनालले स्रोत साधनले अत्यन्त धनी सङ्खुवासभाको आर्थिक विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा र पर्यटन क्षेत्रलाई सँगै जोडेर अगाडि बढ्नसके सङ्खुवासभाको विकासले फड्को मार्नसक्ने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर