सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन अर्को अधिवेशन आह्वान — OSNepal

सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन अर्को अधिवेशन आह्वान

LC (KTM) July 20, 2024 0

सुदूरपश्चि- सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य भएको दोस्रो दिन अर्को अधिवेशन आह्वान गरिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार प्रदेशसभाको अधिवेशन यही साउन ८ गते आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यको मागअनुसार प्रदेश प्रमुख मियाँले अधिवेशन आह्वान गर्नुभएको हो । आजै यी दलले प्रदेश प्रमुख समक्ष अधिवेशन गर्न निवेदन दिएका थिए ।

संविधानको धारा १८३ को उपधारा (३) मा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने छ भन्ने व्यवस्था छ ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले बिहीबार रातिदेखि प्रदेशसभाको चालु वर्षे अधिवेशन अन्त्य गर्नुभएको थियो । असार १ गते प्रदेशसभामा प्रस्तुत सरकारको आव २०८१/८२ को बजेटमाथि छलफल नगरी वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

सरकारले समय छँदै प्रदेशसभामा प्रस्तुत बजेट माथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पु-याएको भन्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विरोध गरेका छन् । प्रस्तुत बजेट पारित नहुँदै नेकपा (एमाले) सरकारबाट बाहिरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर