निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने छ : अर्थमन्त्री पौडेल — OSNepal

निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने छ : अर्थमन्त्री पौडेल

LC (KTM) July 19, 2024 0

काठमाडौँ, ४ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने बताउनुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग आज अर्थ मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानी रोकिँदा सन्देश गलत गएको उल्लेख गर्नुभयो । निर्माण व्यवसायीको रकम अविलम्ब भुक्तान गर्नेबारे विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गरेको उहाँले बताउनुभयो ।

“सरकार र निर्माण व्यवसायी एउटै डुङ्गाका यात्री हुन्, दुवै पक्षले सहकार्य गरी अघि बढ्नुको विकल्प छैन”, मन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीका अन्य समस्या क्रमशः सम्बोधन हुने उहाँको भनाइ थियो । व्यवसायीले तोकिएको रकममा समयमै गुणस्तरीय कार्य गर्नुपर्ने मन्त्री पौडेलले खाँचो औँल्याउनुभयो । निर्माण व्यवसायी नै मुलुकको विकासका अभियन्ता भएकाले सरकारलाई भरोसा गरी आत्म गौरवका साथ कार्य गर्न उहाँले निर्माण व्यवसायीलाई सुझाव दिनुभयो । मुलुकको व्यवस्था फेरिए पनि अवस्था नफेरिएको उल्लेख गर्दै मन्त्री पौडेलले समस्या देखाउने नभई समाधन गर्ने ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

महासङ्घ अध्यक्ष रवि सिंहले मन्त्री पौडेल समक्ष निर्माण उद्योगलाई पनि कृषि तथा जलस्रोत क्षेत्रको जस्तै सहुलियत दिन आग्रह गर्नुभयो । महासङ्घको प्रतिनिधिमण्डलले आजै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर निर्माण उद्योगमा देखिएको भुक्तानीलगायतका समस्याबारे जानकारी गराएको छ । जवाफमा मन्त्री दाहालले ‘लो बिडिङ’ का कारण निर्माण उद्योगमा धेरै जटिलता देखिएकाले कानून संशोधन गरेर भए पनि उक्त समस्या हल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मुलुकमा हुने विकास निर्माणका हरेक काममा स्वदेशी व्यवसायीलाई नै प्राथमिकता दिने व्यवस्था राज्यले गर्ने मन्त्री दाहालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर