सार्वजनिक सवारीका नाम सर्वसाधारणलाई लुट्ने सवारीलाई कडा कारवाही गरिने — OSNepal

सार्वजनिक सवारीका नाम सर्वसाधारणलाई लुट्ने सवारीलाई कडा कारवाही गरिने

LC (KTM) August 01, 2021 0

यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अपरेशन शाखा प्रमुख सुनीलजङ्ग शाहले राससलाई जानकारी दिनुभयो । बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रातो नं प्लेट राखेर यात्रु बोक्ने सवारीका विषयमा महाशाखाको फोन नं १०३ खबर गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।

सरकारले असार २८ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको थियो । अन्तर प्रदेश चल्ने यातायातमा भाडा बढाइएकामा काठमाडौँ उपत्यका र जिल्ला जिल्लामा समेत बढी लिइएको यात्रुको गुनासो छ । प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार स्थानीय सरकारलाई रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल बताउनुहुन्छ । दुवै सरकारले अहिलेसम्म भाडा बढाउने निर्णय गरेका छैनन् । भाडा बढाउनेलाई कारबाही पनि नगरेकामा यात्रुको गुनासो छ ।

न्यूनतम चार किमी यात्रा गर्दा रु १४ भाडा तोकिएकामा हाल रु २० उठाउन थालेको यात्रुको भनाइ छ । अठ्ठाइस प्रतिशत भाडा बढेकाले रु २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ । यसरी भाडा लिँदा परिचालकले टिकट भने दिँदैनन् ।

यात्रु वसन्ती महर्जन जनचासोका विषयमा कुनै पनि तहका सरकारले अनुगमन र कारबाही नगर्दा मनपरी भाडा असुली भइरहेको बताउनुहुन्छ । स्थानीय सरकारले बजार अनुगमनसमेत नगर्दा बजार पनि कोभिडसँगै बढेको उहाँको गुनासो छ । जनप्रतिनिधिलाई जनताका समस्याभन्दा अन्य विषयमै बढी ध्यान जान थालेकाले सास्ती व्यहोर्नुपरेको दुःखेसो पोख्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर