दलहरूलाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल — OSNepal

दलहरूलाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन सकिँदैनः महासचिव पोखरेल

LC (KTM) July 13, 2024 0

पाटन (ललितपुर), २९ असारः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन नसकिने बताउनुभएको छ ।

ललितपुरको खोकनामा आज आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स)को २५औँ स्थापना दिवस समारोहमा उहाँले राजनीतिक दल कमजोर भएमा लोकतन्त्र, मानवअधिकार र जनअधिकार सुनिश्चित हुन नसक्ने बताउनुभयो । “राज्यलाई बलियो बनाउने शक्ति राजनीतिक दल नै हुन्, बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार हुन् । त्यसैले दलहरूलाई कमजोर बनाएर मानवअधिकारको रक्षा र आर्थिक समृद्धि हासिल हुन सक्दैन”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले जनतालाई संरक्षण प्रदान गर्न पनि राज्य र राजनीतिक दल बलियो हुनुपर्ने जिकिर गर्नुभयो ।

एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले समाजमा व्यवस्था परिवर्तन भएसँगै मानवअधिकारका व्यवस्था पनि परिवर्तन हुँदै आएको बताउनुभयो । मानवअधिकार एलाइन्सका इन्चार्ज घनश्याम पाण्डेले नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हकलाई स्थापित गर्न एलाइन्सले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

एमाले केन्द्रीय सदस्य तथा ललितपुर महानगर इन्चार्ज बाबुराम थापाले मानवअधिकार शान्तिको अभिन्न अङ्ग पनि भएकाले यसलाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभयो । एलाइन्सका संस्थापक गङ्गा कसजूले हरेक क्षेत्रमा मानवअधिकार स्थापित गर्न संस्थाले नागरिकको तर्फबाट गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर