वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकाको हरिसवर्गमा पनि सम्मान गरिने — OSNepal

वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकाको हरिसवर्गमा पनि सम्मान गरिने

admin July 13, 2024 0

काठमाडौं । वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकाको पेन्सिभेनिया राज्यको हरिसवर्गमा सम्मान गरिने भएको छ। बलिउडका ‘मादल उस्ताद’ समेत रहेका जनजनको मन मुटुमा बस्न सफल वरिष्ठ संगीतज्ञ गजमेरलाई शनिबार भव्य कार्यक्रमका बिच सम्मान गर्न लागिएको कार्यक्रमका संयोजक विकाश थुलुगंले जानकारी दिए । नेपाली संगीत जगतका प्रतिष्ठित गजमेरको सम्मानमा ‘रन्जित गजमेर उत्सब जिन्दगानी दर्पाण छायाँ’ नामक कार्यक्रम मार्फत सम्मान गर्न लागिएको हो । ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘बासुदेव’, ‘साइनो’, ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आासु’, ‘कोसेली’, ‘दर्पण छायाँ’ जस्ता लोकप्रिय चलचित्रहरुमा संगीत भरिसकेका वरिष्ठ संगीतज्ञ गजमेर सन् १९८१ मा ‘बाँसुरी’ नामक नेपाली चलचित्रबाट संगीतकारको रुपमा उदाएका अग्रज स्रष्टा हुन्।

संगीत क्षेत्रमा संघर्ष गर्न काठमाडौंबाट सोझै बम्बई हानिएका उनले राहुल देव आरडी बर्मनसँग सहकार्य गरेका थिए । गजमेरले भरेको मादलको धुन धेरै बलिउड सिनेमामा सुन्न पाइन्छ। उत्सवमा गजमेरले संगीत भरेका गीतहरुलाई अमेरिकाका प्रतिष्ठित संगीतज्ञहरुको साथमा नेपाली संगीतकर्मीहरुले अर्केस्टामा प्रस्तुत गर्नेछन्। जसमा संगीतको नोबेल पुरस्कार मानिने ग्रामी अवार्ड हासिल गरेका केही संगीतकर्मीहरुको सहकार्य रहनेछ, जुन कुरा बिरलै अरु अवसरहरुमा देख्न पाइन्छ ।

नेपाली गीत संगीतको क्षेत्रका यी शिखर पुरुषलाई सम्मानार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली संगीत प्रेमीहरुको बाक्लो उपस्थिती रहने आयोजकले जनाएको छ । कार्यक्रममा वरिष्ठ संगीतज्ञ गजमेरलाई नगद राशि सहित सम्मान अर्पण गर्न लागिएको हो। कार्यक्रममा गजमेरका चर्चित गीतहरु साउने झरी, झझल्को, वीरताको चिनो, सपना भई आँखामा, लगायत दर्जन भन्दा बढी गीतहरु गुन्जिनेछन् । कार्यक्रम नक्षत्र फाउण्न्डेसन, मेनुका मेमोरियल फाउण्डेसनको प्रस्तुतीमा हुन लागेको हो । कार्यक्रम भुटनिज आर्टिस्ट इन सेन्ट्रल पेन्सिलभेनियाले आयोजना गरेको हो । वरिष्ठ संगीतज्ञ गजमेरलाई जुन २२ तारिखमा अमेरिकाको ओहायो राज्यको सिन्सिनाटीमा भव्य कार्यक्रमका बिच सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर