आज कोरोना संक्रमणबाट थप १८ को मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुग्यो — OSNepal

आज कोरोना संक्रमणबाट थप १८ को मृत्यु , कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुग्यो

LC (KTM) August 01, 2021 0

काठमाडौँ । पछिल्लो २४ घण्टामा १२ हजार ६३६ मा नमूना परीक्षण गर्दा देशभर दुुई हजार ५६८ मा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा दुई हजार २० जना सङ्क्रमणमुक्त भएका छन् । आज १८ को मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ८७५ पुगेकोे छ ।

सङ्क्रमण मुक्त हुने दर ९४।१ प्रतिशत पुगेको छ । हालसम्म कोभिड–१९ खोपको पहिलो मात्रा ४० लाख ६ हजार २८८ ले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको सङ्ख्या १८ लाख १३ हजार ४७१ पुगेको मन्त्रालयले जनाएको छ ।

गोरखामा ‘तपाईको मास्क खै’ अभियान शुरु : जिल्लामा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना सङ्क्रमणको दर बढ्न थालेको छ । सार्वजनिक सवारीसाधन, पसल, बैंक तथा वित्तीय संस्था खुल्दा दिनदिनै सङ्क्रमणको दर उच्च हँुदै गएकाले सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र र प्रहरीले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेको छ ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्दा सङ्क्रमण रोकिनेभन्दा झनझन बढ्न थालेकाले सचेत गराउन अभियान शुरु गरिएको केन्द्रका अध्यक्ष सुशीलबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
“कोरोना सङ्क्रमण बढ्दै गएको छ, मानिस घरबाहिर निस्कदा र भीडभाडमा जाँदसमेत मास्क नलगाई निस्कने गरेका छन्”, उहाँले भन्नुभयो, “घरबाहिर निस्कदा मास्क नलगाई निस्कनु हुन्न भन्ने चेतना फैलाउन पनि अभियान थालिएको हो । यसका लागि केन्द्र र जिल्ला प्रहरी कार्यालयले सदरमुकामभित्र जनचेतनामूलक पर्चा पम्प्लेटसहित मास्क नलगाउनेलाई मास्क लगाएर मात्र हिँडडुल गर्न आग्रह गर्न थालिएको छ ।”

‘‘बजार क्षेत्र भीडभाड उत्तिकै छ, यस्तो अवस्था नागरिक आफै सचेत हुनुपर्नेमा त्यस्तो देखिदैन”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “बाक्लो चहलपहल भएका स्थानमा समेत स्वास्थ्य सुरक्षाको सावधानी अपनाउनेको सङ्ख्या कम भएकाले पनि सङ्क्रमण झन बढ्न थालेको हो ।” अभियानका क्रममा मास्क लगाएर पनि सुरक्षित हुने गरी नलगाउने व्यक्तिलाई अभियानकर्मीले रोकेर मास्क लगाउन सिकाउन थालेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले भीडभाडमा सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरी छोड्ने गरेको प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो । ‘केहीदिन सम्झाइबुझाइ गर्ने हो, अब पनि अटेरी गर्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्छौ, उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण रोक्न सबै नागरिक सचेत हुनु जरुरी छ ।”

गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेल, उक्त केन्द्रका अध्यक्ष सुशीलबाबु श्रेष्ठसहितको टोलीले सदरमुकामको लोकतान्त्रिक चोक, शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, छिपीटोलसम्म माइकिङ गर्दै मास्क लगाउन र कोरोना सङ्क्रमणबाट सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेको थियो ।

जिल्लामा बिहीबार ४३ जनामा सङ्क्रमण भएको देखिएकामा शनिबार १०३ पुगेको थियो । जिल्लाभर अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ५२६ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर