सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारमा लहानको जोड — OSNepal

सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारमा लहानको जोड

LC (KTM) July 09, 2024 0

सिरहा – जिल्लाको लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरण, जनशक्ति व्यवस्थापन तथा विद्यालयको भौतिक स्तरोन्नतिमा जोड दिएको छ ।

नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यावहारिक र प्रविधिमैत्री बनाउन एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र कक्षा कोठा सुधारका लागि आर्थिक वर्ष २०७९÷८० मा रु छ करोड र यस चालु आवमा रु आठ करोड विनियोजन गरेको थियो ।

नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न आफूले जोड दिएको बताउनुभयो । त्यसका लागि यसवर्ष तीन सय ३० डेक्स, वेञ्च र ३६ थान कम्प्युटर र प्रिन्टर वितरण गरिएको बताउँदै चौधरीले विद्यालयका आवश्यकता पहिचान गर्नुका साथै सघन अनुगमन गरेर विद्यालयको शैक्षिक सुधार कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । ‘‘शिक्षाको विकासलाई प्राथमिकतामा राखिएको छ । एकविद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत एक सय २५ जना स्वयंसेवक शिक्षक भर्ना गरिएको छ । लगानीअनुसार सामुदायिक विद्यालयमा यस वर्ष एसइईको परिणामसमेत सन्तोषजनक आएको छ”, चौधरीले भन्नुभयो, “नगरका ५९ वटै सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर तथा भौतिक अवस्था सुधारका लागि प्रयत्नशील रहेका छौँ ।’’

नेपाल शिक्षक सङ्घ लहानका अध्यक्ष नारायण साह फर्निचर, कम्प्युटरको व्यवस्था, पर्खाल तथा कक्षा कोठा निर्माण कार्यमा लहान नगरपालिकाले गरेको लगानीबाट सामुदायिक विद्यालयमा राम्रो सुधार हुँदै गएको बताउनुहुन्छ ।

सहिद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकलाई प्रोत्साहन र भौतिक सामग्रीको अभावपूर्ति गर्न देखाएको तदारुकताको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नगरपालकाको नियमित अनुगमनले शैक्षिक सुधारमा थप हौसला मिलेका छ । त्यसैगरी विद्यालयमा अभाव रहेका शैक्षिक सामग्रीसमेत उपलब्ध गराउँदै निकै राहत भएको छ । यसले यहाँको शैक्षिक गुणस्तर सुधारमा समेत योगदान पु¥याएको छ ।’’

लहान नगरपालिकाले सामुदायिक विद्यालय सुधारमा जोड दिए पनि विद्यार्थीको आकर्षण भने अझै बढाउन नसकिएको स्थानीयको भनाइ छ । दलित जागरण अभियानका केन्द्रीय अध्यक्ष राजेश विद्रोहीले यहाँका अधिकांश सामुदायिक विद्यायलमा गरिब, विपन्न तथा दलित बस्तीका बालबालिका मात्रै अध्ययन गरिरहेका बताउनुभयो । उहाँले भर्नादर धेरै देखिएता पनि विद्यालयमा उपस्थिति न्यून हुने गरेकाले यसतर्फ पनि नगरले ध्यानदिनुपर्ने उहाँको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर