घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका शिशुको मृत्यु, युवक बेपत्ता — OSNepal

घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका शिशुको मृत्यु, युवक बेपत्ता

LC (KTM) July 08, 2024 0

महेन्द्रनगर (कञ्चनपुर), २४ असार : कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर  सोनु धानुकको मृत्यु भएको हो ।

राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ ।

एक हजार सात सय घर डुबान

दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन् । आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुर्नवास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो । जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । “हालसम्म एक हजार सात सय ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ”, उहाँले भन्नुभयो ।

कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् ।

त्यसैगरी आइतबार मध्यरातमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाँसी–दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ । यहाँ अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।

दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकवरलगायत क्षेत्रमा महाकाली र जोडबुढा नदीको बाढी बस्तीमा पसेको छ । बाढी पीडित वडा कार्यालय, विद्यालय र आफन्तकहाँ आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर