मधेस प्रदेशसभाः अगामी आवको बजेटमाथिको सामान्य छलफल सुरु — OSNepal

मधेस प्रदेशसभाः अगामी आवको बजेटमाथिको सामान्य छलफल सुरु

LC (KTM) July 05, 2024 0

महेन्द्रनगर (धनुषा), २१ असारः मधेस प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको अगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफल आजदेखि सुरु भएको छ ।

बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका प्रदेशसभाका सदस्य कौशलकिशोर रायले सर्लाहीको एउटा वडामा रु साढे सात करोड बजेट कसरी गयो भने प्रश्न गर्नुभयो । उहाँले बजेट समयमा नै खर्च गर्न सुझाव पनि दिनुभयो ।

नेपाली कांग्रेसका प्रदेशसभाका सदस्य श्यामप्रसाद पट्टेलले रु ५० लाखभन्दा कमको योजना नआउने प्रतिबद्धता मुख्यमन्त्रीले गरे पनि रु १० लाखसम्मको योजना बजेटमा आएको उल्लेख गर्नुहुँदै महेन्द्रनारायण निधिका नाममा विपन्न आवास योजनाको कार्यक्रम किन काटियो भनी प्रश्न गर्नुभयो ।

त्यस्तै, जनमत पार्टीका नेता एवं पूर्वकृषिमन्त्री वसन्त कुशवाहाले बजेटको कार्यान्वयन निराशाजनक भएकाले साउन १ गतेदेखि नै कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउनका लागि आग्रह गर्नुभएको छ । उहाँले विगतका वर्षमा समयमै बजेट परिचालन नभएका कारणले मधेस प्रदेशमा आर्थिक मन्दी देखिएको बताउनुभएको छ ।

उहाँले विगतका वर्षहरुमा देखिएको विकृति अब दोहोरिन नहुने भन्नुहुँदै समयमै बजेट परिचालन भए त्यसले सकारात्मक असर पार्ने थियो बताउनुभएको छ । प्रदेशसभाको अर्को बैठक भोलि शनिबार ११ बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर